प्रहरीले पक्राउ गरेका चाँदीतस्कर राजस्वबाट रिहा

काठमाडौं, १ चैत – प्रहरीले चाँदी तस्करीको आरोपमा पक्राउ गरेका दुईजनालाई राजस्व अनुसन्धान विभागले धरौटीमा रिहा गरेको छ । विभागले उनीहरूलाई आठ लाख धरौटीमा मंगलबार छाडेको हो ।

प्रहरीले तस्करी आरोपमा पक्राउ परेका वीरगन्ज–२ का ४० वर्षीय सुरेश सर्राफ र वीरगन्ज–३ का कृष्णा सर्राफमाथि थप अनुसन्धान गर्न भन्दै विभागलाई सोमबार जिम्मा लगाएको थियो । महानगरीय प्रहरी वृत्त विशालबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार वसन्तपुरको झोँछेबाट १६ दशमलव २५ किलो चाँदीसहित पक्राउ गरेको थियो ।

बरामद चाँदीको मूल्य बुधबारको बजारभाउअनुसार १० लाख २५ हजार ९ सय ३७ रुपैयाँ छ । महानगरीय प्रहरी वृत्त जनसेवा विशालबजारका डिएसपी टेकुनन्द लिम्बूले चाँदी तस्करीमा संलग्न दुई अभियुक्तलाई राजस्व अनुसन्धान विभागले छाडेको बताए । उनले भने, ‘चाँदी तस्करीमा संलग्न अभियुक्त पक्राउ परेको हो । उनीहरूको साथबाट करिब साढे १६ किलो चाँदी बरामद भएको छ ।’

प्रहरीका अनुसार बरामद चाँदी भारतको मुम्बईबाट वीरगन्ज हुँदै काठमाडौं ल्याइएको हो । उनीहरूको साथबाट सो चाँदीको कुनै कागजपत्र प्रहरीले फेला नपारेको जनाएको छ । डिएसपी लिम्बूले भने, ‘चाँदी बोकेर हिँडिरहेको अवस्थामा दुईजना पक्राउ परे । उनीहरूसँग चाँदीको कुनै कागजात थिएन । उनीहरूले चाँदी भारतको मुम्बईबाट ल्याएको बताएका थिए ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले सुनसँगै चाँदीको पनि तस्करी हुने गरेको बताए । उनले भने, ‘प्रहरीको नियमित चेकजाँचमा करिब साढे १६ किलो चाँदी बरामद भएको छ । पक्राउ परेकाको बयानका आधारमा चाँदी पनि तस्करी हुन थालेको पुष्टि भएको छ ।’ – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार