रुघाखोकी खतरा बन्दै, भत्ताभत मर्न थाले काग

बुटवल, १ चैत – रुपन्देहीस्थित लुम्बिनी अञ्चल अस्पताल हातामा ‘रुघाखोकी’ का कारण काग मरेको पत्ता लागेको छ । सातायता दिनहुँ काग मर्न थालेपछि परीक्षण गरिएको थियो । केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालाले मरेका कागको नमुना परीक्षण गर्दा ‘लो प्याथोजेनिक बर्ड फ्लु’ अर्थात् ‘एच ९’ देखिएको हो ।

एलपीआई पंक्षीमा लाग्ने रुघाखोकी हो । बासस्थान र खानेकुरा उपलब्धताले अस्पताल हातामा कागका प्रशस्त गुँड छन् । प्रयोगशालाकी डा प्रज्ञा कोइरालाले कागको ‘पीसीआर’ परीक्षण गर्दा पशुपक्षीमा लाग्ने सामान्य रुघाखोकी देखिएको बताइन् । उनले यो संक्रमण कुखुरा फार्मलगायतमा सरे झन् समस्या हुन सक्ने बताइन् ।

‘अस्पताल हातामा दिनहुँ दुई–तीनवटा काग मर्न थालेपछि हामीले सतर्कता अपनाउँदै विशेष परीक्षण गराएका हौं,’ अञ्चल अस्पतालका स्वास्थ्य संयोजक डा रमेश केसीले भने, ‘पशुपक्षीका चिकित्सकसँग छलफल गर्दा आत्तिनुपर्ने स्थिति नरहेको र यसले मानिसमा त्यति प्रभाव नपार्ने जानकारी पाएका छौं ।’

अस्पतालले आफ्नो हाताभित्र चुना र संक्रमणमुक्त गर्ने रसायन छर्किने योजना बनाएको छ । ‘एच ९ बाट विश्वमा हालसम्म एक जनाको मात्र मृत्यु भएको तथ्यांक छ,’ जिल्ला पशुसेवा कार्यालय रूपन्देहीका प्रमुख डा विनयकुमार कर्णले एलपीएआई मानिसमा सर्न सक्ने भए पनि यसले खासै समस्या उत्पन्न नगर्ने बताए ।

उनका अनुसार एसिया, अफ्रिका, युरोपलगायत धेरै ठाउँका पक्षीमा एच ९ देखिएको छ । सामान्य मानिने यो रुघाखोकीबाट पक्षीमा समेत बढी मृत्युदर नरहेको विज्ञहरू बताउँछन् ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार ‘इन्फ्लुएन्जा ए एच ९’ भाइरसको एच ९ एन १ देखि एच ९ एन ९ गरी ९ वटा प्रकार छन् । यी सबै एच ९ भाइरस जंगली पक्षी र कुखुरामा एलपीएआई भाइरसका रूपमा चिनिन्छन् । — कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार