एनसीसी बैंक घोटाला प्रकरण : के होला निक्षेपकर्ताको पैसा ?

बैंकिङ क्षेत्रमा मर्जर लहर चलेपछि नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेड र एपेक्स डेभलपमेन्ट बैंक मर्जरमा जान सहमत भएका हुन् । एनसिसी बैंकको नेतृत्वमा जाने भएपछि एपेक्सका सञ्चालक, व्यवस्थापक र कर्मचारीले कर्जाको खोलो बगाउन थाले । यसबीचमा उनीहरूले नक्कली ऋणी खडा गर्ने, कमसल धितोमा अत्यधिक लगानी गर्ने, साक्षी पनि नराखी ऋण प्रवाह गर्ने, एकै दिन सम्पूर्ण प्रक्रिया पूरा गर्नेलगायतका अनियमितता गरे । ११ मंसिर ०७२ मा एनसिसी र एपेक्स मर्जरमा जाने सम्झौता भएको थियो ।

१७ पुस ०७३ मा एकीकृत कारोबार सुरु गर्नुअघिसम्म एपेक्सले २ अर्ब ३ करोड ७४ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांक छ । तर, यसमध्ये अनियमित रूपमा जारी गरिएको १ अर्ब ५० करोड ९६ लाख लाख ३३ हजार ९ सय ८४ रुपैयाँ बैंकलाई नोक्सानी भएको छ । मर्जर सम्झौतापछि कुनै पनि बैंकले ५० लाखभन्दा बढीको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी दिनुपर्ने हुन्छ । तर, एपेक्सले करिब १ सय ५० वटा फाइलमार्फत प्रतिकारोबार ५० लाख नकटाई कर्जा प्रवाह ग¥यो र त्यसको कुनै पनि जानकारी मर्जर समितिलाई दिएन ।

१७ पुस ०७३ मा एपेक्ससँगै इन्टरनेसनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक पनि एनसिसीमा मर्ज भएका थिए । मर्जरअघि एपेक्समा भएको खराब कर्जाबारे जानकारी नभएको एनसिसी बैंकको भनाइ छ । एकीकृत कारोबार सुरु भएपछि एनसिसी बैंकले माघमा दोस्रो त्रैमासिकको वित्तीय विवरण बनाउन सुरु गर्दा एपेक्सको ‘फर्जरी’ खुल्न थाल्यो ।

एनसिसीले गुहारेपछि राष्ट्र बैंकले टोली पठाएर १ सय ७० फाइलको अनुसन्धान ग-यो । त्यसमध्ये करिब १ सय ३० फाइलबाट ठगी गरिएको थियो । ठगीमा एपेक्सका सञ्चालकदेखि व्यवस्थापन र तल्लो तहका कर्मचारीसम्मको संलग्नता रहेको पाइएको छ । ठगी आरोपमा प्रहरीले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद गुरुङ, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णंराज भण्डारी र मधुवनलाल श्रेष्ठ छन् । त्यस्तै, एपेक्सका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर न्यौपाने र कर्जा अधिकृत मोहन खरेल छन् । प्रहरीले उनीहरूलाई सानेपा, जोरपाटी, कपन, कमलादी र बागबजारबाट पक्राउ गरेको हो ।

बैंक घोटालाको अनुसन्धान सुरु भएको करिब एक वर्षपछि नेपाल राष्ट्र बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा १० दिनअघि जाहेरी दिएको थियो । डिएसपी श्याम ओलियाले भने, ‘यसबीचमा हामीले गम्भीर अनुसन्धान ग-यौँ । दोषी देखिएकाको वर्गीकरण ग-यौँ । त्यसपछि पक्राउ गर्न अघि बढ्यौँ । अहिले पक्राउ परेका सबै प्रथम प्राथमिकतामा परेका हुन् ।’ प्रहरीका अनुसार बैंक घोटालामा संलग्न ४० भन्दा धेरै अभियुक्त खोजीमा रहेका छन् ।

खोजीमा रहनेमा अधिकांश बैंकमा कर्मचारी रहेका छन् । त्यसबाहेक नक्कली ऋणी बन्ने र ऋण प्रवाहमा एजेन्टको भूमिका निर्वाह गर्ने पनि प्रहरीको खोजीमा रहेका सिआइबीले जानकारी दिएको छ ।

निक्षेपकर्तालाई कुनै असर पर्दैन : महेश्वरलाल श्रेष्ठ, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

तत्कालीन एपेक्स बैंकका सञ्चालक तथा कर्मचारीले गरेको कर्जाको दुरुपयोगबाट एनसिसी बैंकका निक्षेपकर्तालाई असर पर्दैन । दुरुपयोग भएको सबै ऋणको नोक्सानी व्यवस्थापन भइसकेको छ । राष्ट्र बैंकको अनुसन्धानबाट करिब २ अर्ब रुपैयाँबराबरको ऋणमा कैफियत भेटिएको थियो । राष्ट्र बैंकले एनसिसीलाई त्यसको नोक्सानी व्यवस्थापन गर्न लगाएका हौँ । सबै नोक्सानी व्यवस्थापन भइसकेकाले एनसिसी बैंकका निक्षेपलाई कुनै असर पर्ने छैन ।

एनसिसीलाई असर पर्दैन : वन्दना पाठक नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता

प्रहरीले एनसिसी बैंकसँग मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीलाई पक्राउ गरेको छ । यस विषयमा हामी जानकार छौँ । एपेक्सले एनसिसीसँग मर्जरमा जानुअघि प्रवाह गरेको कर्जामा हामीले कैफियत भेट्यौँ । त्यसपछि हाम्रो आग्रहपछि नै राष्ट्र बैंकले अध्ययन सुरु ग-यो र त्यसमा कैफियत भेटाएर प्रहरीमा जाहेरी दिएको हो । यसबाट एनसिसीलाई कुनै नोक्सानी हुँदैन । हामीले राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पूरा गरिसकेका छौँ । वित्तीय विवरण सबै ठीक अवस्थामा छन् । अब कैफियत भेटिएको खराब कर्जा असुलउपर हुने सम्भावना बढेको छ ।

वित्तीय संस्थामा अहिलेसम्मकै सबैभन्दा ठूलो अपचलन

प्रहरीले डेढ अर्ब रुपैयाँ घोटाला गरेको अभियोगमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीसहित १३ अभियुक्त पक्राउ गरेको छ । बैकिङ कसुरअन्तर्गत भएको यो अहिलेसम्मकै ठूलो घोटाला हो । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्ने तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद गुरुङ, सञ्चालकहरू इच्छाबहादुर गुरुङ, सुवर्णंराज भण्डारी र मधुवनलाल श्रेष्ठ हुन् ।

त्यस्तै पक्राउ पर्नेमा बैंक कर्मचारी पनि छन् । प्रहरीका अनुसार बैंकका निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक प्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धकहरू विकास श्रेष्ठ, सुदीप थापा र मानबहादुर राउत, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, लोकन्थली बैंकका शाखा प्रमुख सागर नेउपाने र कर्जा अधिकृत मोहन खरेल रहेका छन् । प्रहरीले उनीहरूलाई सानेपा, जोरपाटी, कपन, कमलादी र बागबजारबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले बैंकको केन्द्रीय कार्यालयसहित शाखा कार्यालयबाट गरी कुल १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ४६ रुपैयाँ घोटाला गरेका छन् । उनीहरूले बैंकबाट अनियमित तवरले कर्जा प्रवाह गरी बैंक घोटाला गरेका हुन् ।

सिआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले यो अहिलेसम्मकै ठूलो बैंक घोटाला रहेको बताए । उनले भने, ‘एपेक्स बैंकले विभिन्न ठाउँमा शाखा कार्यालय पनि खोलेको देखियो । ती शाखा कार्यालयबाट पनि घोटाला भएको पाइएको छ । सबै गरी डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम घोटाला भएको देखिन्छ । यो बैकमार्फत गरिएको यो अहिलेसम्मकै ठुलो घोटला हो ।’

एपेक्स डेभलपमेन्ट बैंक अहिले अस्तित्वमा छैन । नेपाल क्रेडिट एण्ड कर्मश बैंक(एनसीसी)सँग मर्जर भएपछि यो बैंक अस्तित्वमा नरहेको हो । प्रहरीका अनुसार मर्जरको फाइदा उठाउँदै सञ्चालक, कर्मचारी र एजेन्टको मिलेमतो बैंकको रकम घोटला गरिएको हो । एनसीसी र एपेक्सबीच ११ मंसिर ०७२ मा मर्जरमा जाने सहमति भएको थियो । तर, मर्जर भने त्यसको वर्षदिन पछि मात्रै हुन सक्यो । बीचमा रहेको यही बर्षदिनलाई उपयोग गरि सञ्चालक र कर्मचारीले बैकको रकम घोटला गरेका हुन् ।

सिआाईबीका डिएसपी श्याम ओलियाले मर्जरको फाइदा उठाउँदै एपेक्सका सञ्चालक तथा कर्मचारीले बैंक घोटला गरेको बताए । उनले भने,‘यीनीहरुबीच ११ मंसिर ०७२ मा बैंक मर्जर गर्ने सहमति भयो । तर, बर्ष दिनसम्म बैंक मर्जर गरिएन । यहीबीच कर्मचारी र सञ्चालक मिले । त्यसपछि अनियमित रुपमा ऋण प्रवाह गरे ।’

प्रहरीका अनुसार उनीहरुले कृतिम ऋणी खडा गरि ऋण प्रवाह गरेको खुलेको छ । भिरालो पाखोबारी र कमशल जमिन धितो राखेर पनि ऋण प्रवाह गरेको खुलेको छ । त्यस्तै ऋणीको नक्कली आयस्रोत बनाएर पनि ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले ऋण प्रवाह गर्दा साँक्षी समेत नराखेको खुलेको छ । उनीहरुले धितो निरीक्षण कर्जा निर्णय गर्दा जग्गा किनबेच, रोक्का, कर्जा तमसुक र कर्जा प्रवाह एकै दिन गरेको खुलेको छ ।-नयाँ पत्रिका दैनिक

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार