काठमाडौँ, ९ चैत — काँग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको समग्र चुनावी समीक्षा गर्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार विहान ११ बजे बोलाइएको छ । ‘निर्वाचनको समग्र समीक्षा तथा पार्टीको समग्र अवस्थाबारे काँग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेकाे हाे ।
पार्टीको आन्तरिक व्यवस्थापन र नियुक्तिबारे कुरा हुँदैन यो बैठकमा ? यो समयमा चुनावी समीक्षा र अन्य विषयहरुमा पनि छलफल हुन्छ । अहिले अन्य राजनीतिक विषयहरु छैनन्, चुनावको समग्र समीक्षा, पार्टीको आगामी रणनीति, नयाँ कार्यक्रम के बनाउने ?, महासमिति बैठक कहिले बोलाउने ?, जिल्ला सभापतिहरुको सम्मेलन कहिले हुने ? भन्ने विषयहरु र विधान मस्यौदा समिति सम्बन्धमा छलफल हुन्छ ।’ सदनमा प्रतिपक्षीको भूमिका र आउने दिनको कार्यदिशाबारे छलफल हुने छ ।
पार्टी मूख्य सचिव कृष्णप्रसाद पौडेलले यसअघि नै सबैलाई अनिवार्य उपस्थित हुन भनिसकेका छन् । तीनै तहका निर्वाचनपछि ठूलो साइजमा बस्न लागेको बैठकमा जिम्मेवारी बाँडफाँडबारे निर्णय गर्नसक्ने बताइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले संगठनको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनयन गर्ने तयारी गरेको कुरा चुहिएको छ । उता, भरखरै मात्र प्रमुख सचेतक नियुक्त भएका बालकृष्ण खाँणलाई चित्त नबुझेको कुरा आइरहेको छ । पार्टी सभापति देउवाले जिम्मेवारीमा पनि हेरफेर गर्न सक्ने बताइँदै छ ।
बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेरबहादुर देउवाको तयारी छ। कांग्रेभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन्। बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै छन् भने संस्थापन पक्ष कुन नेताले निर्वाचन क्षेत्रमा गएर कति भोट बढाए भन्ने हिसाब माग्ने योजनामा छ।
अहिले पौडेल पक्ष आक्रामक र संस्थापन रक्षात्मक देखिँदै गर्दा तेस्रो विचार समूह दाबी गर्दै सिटौला पक्ष आफ्नो धार बलियो बनाउने अभियानमा लागेको छ। दुई पक्षको विवादमा घुसेर आफ्नो पक्षमा माहोल बनाउने रणनीतिमा सिटौला पक्ष देखिन्छ। बैठकमा सभापतिले सबैलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन्।
संस्थापनको तयारी
बैठकमा सभापतिले सबै सदस्यलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन् । निर्वाचन हार्नुका कारण, अब प्रतिपक्षीका रूपमा पार्टीले खेल्नुपर्ने भूमिका र पार्टी सञ्चालनको योजना बनाउने विषयमा बैठक केन्द्रित गर्ने संस्थापनको तयारी छ ।
देउवाले डाटामा रिजल्ट खोज्ने
सभापति देउवाले यसअघि नै जिल्ला जिल्लाबाट चुनावको प्रतिवेदन मगाउन निर्देशन दिइसकेका छन् । प्रतिवेदनकै आधारमा कुन नेताले कस्तो भूमिका खेले भन्ने विषयमा समीक्षा गराउने उनको तयारी छ । ‘पार्टीमा हारेकाले गाली गर्न सक्छ, तर उसले आफ्नो ठाउँमा गएर कति भोट ल्यायो, बढायो भनेर पनि खोजी गरिनेछ,’ सभापतिनिकट स्रोतले भन्यो, ‘निर्वाचन हार्नुका पछाडि अहिले जसरी नेतृत्वमाथि खनिने काम भएको छ। अब नेताहरू कहाँ गएर कति मत बढाए भनेर डाटामा रिजल्ट हेरिन्छ।’