खुल्यो अख्तियारमा छानबिन प्रयोगशाला

काठमाडौं, १८ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका आयोजनामा हुने भ्रष्टाचार छानबिनलाई वैज्ञानिक र प्रभावकारी बनाउन सिभिल इन्जिनियरिङ प्रयोगशाला स्थापना गरेको छ ।

सार्वजनिक निर्माण, सडक र भवनलगायतको परीक्षणका लागि स्थापना गरिएकाले कुनै पनि आयोजनामा अनियमितता गर्ने व्यक्तिले अब उन्मुक्ति पाउन नसक्ने अख्तियारले जनाएको छ ।

अख्तियारले प्रयोगशालामा अनियमितताको आवाज उठेका र आशंकामा परेका सबैजसो विकास निर्माणका आयोजना परीक्षण गरी निर्माण सामग्री गुणस्तरीय भएरनभएको, मापदण्डअनुसार काम भए–नभएको छानबिन गर्नेछ ।

अख्तियारले प्रयोगशालासँगै विकास निर्माणका काम परीक्षणका लागि दक्ष जनशक्ति एवं अनुसन्धान टोलीसमेत तयार पारेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका आधुनिक प्रविधियुक्त औजार अनुसन्धान कार्यमा प्रयोग गर्न थालिएको समेत अख्तियारका अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार अख्तियारले विद्युतीय फरेन्सिक ल्याब, निर्माण सामग्रीको गुणस्तर थाहा पाउने एक्सरे मेसिनसमेत खरिद गरिसकेको छ ।

ज्ञान र प्रमाणमा आधारित अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधि, स्रोतसाधन र दक्ष जनशक्ति विकास गर्ने प्रक्रियामा अघि बढेको जनाएको छ । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार