पशुपति क्षेत्र मगन्तेरहित क्षेत्र घोषणा

म‌ंगलबार एक पत्रकार सम्मेलनमार्फत् पशुपति क्षेत्रलाई सहयोगापेक्षी (मगन्ते) रहित क्षेत्र घोषणा गरिएको छ । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीज्यूले पशुपति क्षेत्रलाई सहयोगापेक्षीरहित क्षेत्र घोषणा गर्नु भएको हो । धार्मिक, साँस्कृतिक र ऐतिहासिक सम्पदाहरूले भरिपूर्ण भएको यो क्षेत्रमा प्रवेश गर्नासाथ हरेक भक्तजनले धार्मिक र आध्यात्मिक वातावरणको अनुभूति गर्न सकून् भन्ने दिशामा कोषले केही सुधारात्मक कार्यहरू गरिरहेको छ । विश्व सम्पदामा सूचिकृत यो क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकहरू पनि निर्वाधरूपमा यो क्षेत्रको अवलोकन गर्न सकून् भन्नेतर्फ पनि हामीले ध्यान दिइरहेका छौँ ।

आराध्यादेव भगवान् पशुपतिनाथको यस पवित्र क्षेत्रमा बर्षौदेखि पुस–माघको चिसो रात, चैत–वैशाखको आँधीबेरी, असार–साउनको वर्षातका झरीमा समेत खुल्ला आकाश मुनि रात बिताउन बाध्य भएर रहनु भएका आमाबुबा, दिदीबहिनी, दाजुभाई वा रोगले ग्रस्त मानवहरूको दुःख पीडामा मलहम लगाउने र आफ्ना कोही पनि छैनन् भन्ने असहाय भावनाबाट मुक्त गर्नका लागि हामीले प्रयास गरेका छौँ ।

विगत ६ महिनादेखि यस क्षेत्रका असहाय, रोगी, घरबाट भड्किएर आएका मानवहरूलाई स्वास्थ्य सेवा (स्वास्थ्य शिविर सञ्चालनबाट), न्यानो कपडा वितरण गर्ने कार्य गर्नुको साथै पारिवारिक पुनर्मिलन वा पुनःस्थापना गराउने कार्य र तथ्याङ्क संकलन गर्ने कार्यमा हाम्रो ध्यान केन्द्रित थियो । यसमा क्विक भोलन्टियर्स नेपाल, सत्य साई केन्द्र, मानव सेवा आश्रम, वाग्मती सफाई महाअभियानका केही अभियन्ताहरू र व्यक्तिगत रूपमै संलग्न रहेर धेरै उदारमना महानुभावहरूले साथ दिँदै आउनु भएको छ ।

सुरुका दिनमा हामीले संकलन गरेको तथ्यांकअनुसार १५२ जना व्यक्तिहरू यस क्षेत्रमा बसेर माग्ने गरेका थिए । शिवरात्रीपश्चात् त्यो संख्या निकै बढी देखियो । विशेषगरी शनिवार र सोमबार अनि चाडपर्वका बेलामा संख्या बढी हुने गर्दछ । बौद्धनाथ, स्वयम्भूनाथ, भद्रकाली, रत्नपार्क र पशुपति क्षेत्रमा एकठाउँबाट अर्को ठाउँमा चाडअनुसार माग्न जाने गरेको पाइयो ।

कतिपयले पहेँलो वा कालो बस्त्र पहिरिने र जोगीको भेषधारण गरि माग्ने गरेको पाइयो । कोही आफ्नो खुट्टा वा हात वा शरीरका अन्य अंगमा टमाटर, मह र बेटाडिनजस्ता मलहम लगाई झिङ्गा भन्काएर बिजोग देखाएर माग्ने गरेको पाइयो । बच्चालाई काखमा च्यापेर बच्चाका लागि भन्दै विदेशी पर्यटकलाई पछ्याउँदै माग्ने, आउँदा ठमठमी हिँडेर वा बैशाखीको सहाराले आउने अनि भक्तजन आउन थालेपछि लम्पसार पर्ने, शरीर र मुख छोप्ने र अगाडि एउटा भाँडो थापेर माग्ने गरेको पनि पाइयो । कतिपय कुष्ठरोगीहरू आफ्ना क्षय भएका आँैला र खुट्टामा पट्टी बाँधेर माग्ने गरेको पाइयो ।

ज्यामी काम गर्ने व्यक्तिहरू कर्मका सिलसिलामा चोटपटक लागेपछि मालिक वा ठेकेदारले धपाएपछि यही क्षेत्रमा आएर मागेर गुजारा गरेको पनि पाइयो । एकजना व्यक्ति घाँस काट्दा रुखबाट लडेपछि खुट्टा भाँचियो, हस्पिटलमा उपचारका क्रममा रड राखियो । खर्चको अभाव भयो । दाजुभाइले वास्ता गरेनन् । अनि उनी पशुपति आइपुगे । भूकम्पपछि घरबारबिहिन भएर आइपुगेका व्यक्ति पनि भेटिए । घरबाट झगडा भएर बैरागिएर यता आएका र बर्षौँसम्म पनि यहीँ बसिरहेका देखि सडकमै जन्मेर सडकमै हुर्केर सडकमै आफ्नो जीवन चलाइरहेका व्यक्ति पनि भेटिएका छन् ।

करिब १२ वर्ष अगाडि एक आमा आफ्नो पाँच महिनाको छोरीसहित यस क्षेत्रमा आइपुगिन् । उनका अनुसार उनीमा माता चढिन् र भगवानको यस ठाउँमा बस्न थालिन । उनको श्रीमानलाई हामीले बोलायौँ । उनी आए । तर श्रीमतीलाई स्वीकार गर्न चाहेनन् । छोरी लान्छु भने । आमा र छोरी छुट्टिन मानेनन् । हामीले आमा छोरीलाई कोठामा राख्नुपर्ने लालनपालन गर्नुपर्ने सर्तसहित मौखिक सहमति गरायौँ । उनी पैसा लिएर आउँछु भनेर गए । तर अहिले उनी सम्पर्कबिहिन छन् । छोरी पूर्णिमा १३ वर्षकी भइन् । अहिले ५ कक्षामा पढ्छिन् । आमा र छोरी दुवैलाई हामीले मानव सेवा आश्रममा पठायौँ ।

५ वर्षकी छोरीसहित भष्मेश्वर घाटमा भेटिएकी एक युवतीको कथा पनि कहालीलाग्दो छ । कहिले झापा त कहिले दमौली गर्दै पशुपति आइपुगेकी उनीहरू दुई महिना अघिदेखि रक्षा नेपालको संरक्षणमा छन् ।

यी र यस्ता प्रतिनिधि उदाहरण प्रशस्तै छन् । हाल कोषले मानव सेवा आश्रमको सहकार्यमा पशुपति क्षेत्रमा रहेका सहयोगापेक्षी वर्गलाई व्यवस्थापन गरिरहेको छ । आगामी दिनमा देशभरका मन्दिर र धार्मिक स्थलमा रहेका यस खालका सहयोगापेक्षी मानवहरूलाई पुनःस्थापित गर्नका लागि यो कार्य प्रेरणा बन्न सक्नेछ भन्ने अपेक्षा लिएका छौँ । मानव कल्याणका क्षेत्रमा कोषले भविष्यमा पनि केही योजना तपाईहरूका बिचमा ल्याउने प्रतिबद्घता सहित पशुपति क्षेत्रलाई वेवारिसे, असहाय मानव रहित क्षेत्र (Beggar-Free Pashupati Area) घोषणा गर्न पाउँदा हामी खुसी छौँ ।

मानव कल्याणको यस कार्यले कसैले पनि खुल्ला आकाशमुनि रात बिताउन र बिहान बेलुका दुई छाक खान र एकसरो कपडा लगाउन हात फैलाएर सडक पेटीमा बस्नुपर्ने बिडम्बनाबाट यस क्षेत्रमा बर्षौँदेखि रहँदै आउनुभएका केही हाम्रा आमा, बुबा, दाजु भाई, दिदी बहिनीको बाध्यकारी अवस्थाको अन्त्य भएको छ । मानवीय सेवाको यस कार्यमा सबै पक्षबाट सहयोग प्राप्त हुने विश्वास लिएका छौँ । यस कार्यलाई प्रारम्भिक चरणबाट आजको यस समारोहसम्म ल्याउनुहुने सम्पूर्ण सहभागी मित्रहरूलाई धन्यवाद दिन चाहन्छौँ ।

सम्माननीय प्रधानमन्त्रीज्यूबाट पनि देशमा कोही पनि व्यक्ति भोकानाङ्गा रहनुपर्ने छैन भन्ने अभिव्यक्ति भएको छ । राज्यले लिएको नीतिमा थोरै मात्र भएपनि सम्बोधन गर्ने प्रयास पनि हो यो । पशुपति क्षेत्रमा भएको यो प्रयास देशैभरिका धार्मिकस्थलमा पु¥याउन सकियो भने देशैभरिबाट यस्ता असहाय र वेवारिसे मानवहरूलाई पुनस्र्थापित गर्न सकिन्छ । माग्नुलाई आफ्नो पेशा नै बनाउनेहरू र शारीरिक रूपमा असक्त र रोगीको प्रयोग गरी माग्न लगाई कमाउधन्दामा लागेका कतिपय व्यक्ति र गिरोहहरूलाई प्रशासनले नियन्त्रणमा लिएर कारबाही गर्ने हो भने पनि यस्तो खालको सामाजिक समस्याबाट चाँडै मुक्ति मिल्ने देखिन्छ ।

हाम्रा धार्मिक, साँस्कृतिक र ऐतिहासिक एवम् विश्व सम्पदामा सूचिकृत सम्पदा क्षेत्रहरूलाई स्वच्छ र सुन्दर राख्नुका साथै सहयोगापेक्षी वर्ग रहित क्षेत्र बनाउने कार्यले धार्मिक पर्यटन प्रवद्र्धन गर्ने कार्यमा बढोत्तरी हुने देशलाई आर्थिक सम्वृद्धितर्फ उन्मुख गराउन समेत यस्ता कार्यहरूले सहयोग पुग्ने विश्वास लिएका छौँ ।— प्रदिप ढकाल, सदस्य सचीव, पसुपति  बिकास काेष

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार