काठमाडौं, २१ चैत – पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्दामा स्थिर रहन सुझाव दिएका छन् । हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठूला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी परिणाम आउन नसकेको भन्दै उनीहरुले राष्ट्रिय मुद्दामा दरिलो उपस्थिति जनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्रीको भ्रमणलाई सद्भाव भ्रमण मात्रै नबनाउन उनीहरुले सुझाव समेत दिएका छन् । आगामी शुक्रबार ३ दिने भ्रमणका लागि दिल्ली जानुअघि प्रधानमन्त्री ओलीले अनुभव साटासाट गर्न आज पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल, खिलराज रेग्मी, लगायतसंग छलफल गर्नुभएको थियो । सुझाव दिने क्रममा कांग्रेस सभापति देउवाले व्यापार घाटा कम गर्ने एजेण्डा माथि छलफल गर्न सुझाउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले संविधान जारी गर्दा भारतसँग बिग्रिएको सम्बन्ध संविधान कार्यन्वयनका क्रममा सुध्रने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक समृद्धि र स्थायित्वका लागि प्रधानमन्त्री ओलीको भ्रमण फलदायी हुने दाहालको विश्वास थियो । एमाले वरिष्ठ नेता खनालले नेपाल प्रतिको भारतीय दृष्टिकोणमा परिवर्तन आएको भन्दै दुबै मुलुकलाई फाईदा हुने गरी सन्धी सम्झौता हुनुपर्नेमा जोड दिनुभयो । एमाले नेता नेपालले भारतसँग नेपालको सम्बन्ध भाई – भाईको नभई मित्रताको हुनुपर्ने बताउनुभयो । उहाँले भारतसँग नयाँ सम्बन्ध भन्दा पनि यसअघि भएका पुराना सम्झौता कार्यन्वयनमा नेपालले जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भारतसँग पुरानै सोचले नयाँ सम्वन्ध कायम हुन नसक्ने बताउनुभयो । उहाँले २१ औं सताब्दीको विश्व परिवेश अनुसार नेपाल र भारत सम्बन्ध विकास हुनुपर्ने बतउनुभयो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी लगायत उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न दलका बरिष्ठ नेता, कलाकार, उद्योगी व्यापारी लगायतसँग भेटवार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा मुलुकको शिर निहुरीने गरी कुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओली भारतको तीन दिने भ्रमणका लागि पर्सि शुक्रबार नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।