नयाँदिल्ली, २४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । ४५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका ओलीलाई सिंहले स्वागत गरेका हुन् । सिंहले ओलीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे।
मोदीलाई भेट्न प्रधानमन्त्री ओली मोदीको सरकारी निवासमा पुगेका थिए । भेटमा ओली र मोदीबीच आपसी हितबारे चासो राख्दै द्विपक्षीय सम्बन्ध सुधारको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको ‘वान टु वान’ भेटवार्ता सकिएको छ ।
ओली र मोदीबीच नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेको छलफलका एजेण्डाहरुमा पनि छलफल भएको बताईएको छ । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । त्यस्तै ओली र मोदीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ । ओली र मोदीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रवार अपराह्न शिष्टाचार भेटवार्ता गरेका छन् । सो अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय राष्ट्रिय काँग्रेसका अन्य शीर्ष नेताको सहभागिता थिए । सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी थिए । ओली शुक्रबार नै तीन दिने भ्रमणको सिलसिलामा भारत भएका थिए ।