नेपाल र भारतबीच के–के भयो सहमति ?

नयाँदिल्ली, २४ चैत  – नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा शनिबार नयाँदिल्लीमा सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको छ ।

दुवै देशका प्रधानमन्त्रीले बहुआयामिक नेपाल–भारत सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै दुई देशका सरकार, निजी क्षेत्र र जनस्तरमा झांगिएको साझेदारीको स्वागत गरेका छन् । साझा ऐतिहासिक तथा साँस्कृतिक सम्बन्ध र जनता–जनताबीचको सम्पर्कमा आधारित मैत्रीपूर्ण एवं सन्निकटको नेपाल–भारत सम्बन्धको सुदृढ आधारशिलाको स्मरण गर्दै दुवै प्रधानमन्त्रीले नियमितरुपमा उच्चस्तरीय राजनीतिक भेटघाट र विचार आदान–प्रदानबाट नै द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेमा मतैक्यता प्रकट गरेका छन् ।

नेपाल सरकारले भारतसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउन उच्च महत्व दिएको बताउँदै द्विपक्षीय सम्बन्धलाई भारतको विकास र समृद्धिबाट नेपालको आर्थिक रुपान्तरण र उन्नयनमा विस्तार गर्न चाहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेको वक्तव्यमा जनाइएको छ । बाह्रबुँदे संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी ओलीलाई नेपाल सरकारको प्राथमिकताअनुसार भारतले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले भारत सरकारको ‘सबैको साथ सबैको विकास’ दृष्टिकोण समावेशी विकास र समृद्धिका निम्ति छिमेकीसँग सहकार्य गर्ने मार्ग निर्देशक नीतिकैरुपमा रहेको बताए । प्रधानमन्त्री ओलीले युगान्तकारी राजनीतिक परिवर्तनपछि नेपाल सरकारले ‘समृद्ध नेपाल : सुखी नेपाली’ भन्ने सिद्धान्तका साथ आर्थिक रुपान्तरणलाई प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री मोदीले स्थानीय तह, संघीय संसद र पहिलो प्रान्तीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली जनता र नेपाल सरकारप्रति हार्दिक बधाइ ज्ञापन गर्दै नेपाल र नेपालीले देशको विकास र स्थायित्वका लागि लिएको दूरदृष्टिको सरहाना गरे ।

दुवै प्रधानमन्त्रीले वीरगन्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन गर्दै त्यसको शीघ्र सन्चालनबाट सीमापार व्यापार तथा वस्तु र सर्वसाधारणको आवागमनले विकास र आर्थिक वृद्धिमा योगदान पुग्ने आशा व्यक्त गरे । दुवै देशका प्रधानमन्त्रीले भारतको मोतीहारी–अमलेखगन्ज सीमापार पेट्रोलियम पदार्थ पाइपलाइन बिछ्याउने परियोजना कार्यारम्भको ‘भिडियो’ सम्मेलनमार्फत् अवलोकन गरे ।

नेपालमा सन्चालित विकासका द्विपक्षीय परियोजनालाई द्रुतगतिमा कार्यान्वयन गर्नुपर्ने र नेपाल–भारत सम्बन्धका विविध क्षेत्रका सहयोगका कार्यसूचीलाई लागू गर्ने विद्यमान संयन्त्रलाई पुनर्जीवित गर्नुपर्नेमा प्रधानमन्त्रीद्वयले जोड दिए । शनिबारै कृषि क्षेत्रमा नेपाल र भारतबीच नयाँ साझेदारी बन्नुका साथै रेलसेवाबाट काठमाडौंलाई भारतको रक्सौलसँग जोड्ने र जलमार्गबाटसमेत दुई देशबीचको सम्पर्क विस्तार गर्ने पारस्परिक हितका तीनओटा बेग्लाबेग्लै संयुक्त वक्तव्य पनि जारी भए ।

प्रधानमन्त्री ओलीको भ्रमणबाट बहुआयामिक नेपाल–भारत साझेदारीमा नयाँ आयाम थपिएकामा दुवै देशका प्रधानमन्त्रीले सहमति जनाए । भारत भ्रमणका निम्ति गरेको आमन्त्रण र आफू नेतृत्वको प्रतिनिधिमन्डलप्रति देखाइएको हार्दिक आतिथेयप्रति प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीमा आभार व्यक्त गरे । प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई यथाशक्य चाँडो नेपालको भ्रमण गर्न आमन्त्रण गरे । प्रधानमन्त्री मोदीले भ्रमणको आमन्त्रणलाई स्वीकार गरे । प्रधानमन्त्री मोदीको भ्रमणको मिति कूटनीतिक माध्यमबाट अन्तिमरुप दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार