https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

नेपाल वायुसेवा निगममा पाइलटको हाहाकार, विदेशबाट ल्याएर काम चलाइँदै

काठमाडौं, २५ चैत  – नेपाल वायुसेवा निगमले आगामी असारमा ल्याउन लागेको एयरबसको वाइड बडी विमानको उडान भर्न क्याप्टेन र कोपाइलटसहित कम्तीमा ३२ जना पाइलट आवश्यक पर्छ । यो जनशक्ति नेपालसँग छैन । त्यसका लागि निगमले सुरुमा कम्तीमा १० जना विदेशी पाइलट ल्याउँदै छ, उनीहरूकै इच्छाअनुसार मासिक २० लाख रुपैयाँसम्म तलब दिने सर्तमा ।

‘यतिउति भन्ने छैन, नेगोसिएट गरेर १६ देखि २० हजार डलरसम्म मासिक तलब दिन्छौं,’ महाप्रबन्धक सुगतरत्न कंसाकारले कान्तिपुरसँग भने, ‘नेपालमा सञ्चालित २६ वटा विदेशी एयरलाइन्सकै पाइलटको हाराहारी तलब दिनैपर्छ । नत्र हामी जहाज उडाउन सक्दैनौं ।’ उनका अनुसार सुरुमा ल्याइने प्रशिक्षक पाइलट र क्याप्टेनले निगमका अरू पाइलटलाई पनि वाइड बडीका लागि ‘क्लियर’ गर्दै जानेछन् ।

वाइड बडी सञ्चालनमा आइहाले पनि केही वर्ष विदेशी पाइलटकै कमान्ड रहनेछ । दुई वर्षअघि ल्याइएका दुइटा एयरबस उडाउन अहिले तीन विदेशीसहित ३४ पाइलट छन् । निगमले तीन विदेशीलाई मासिक १२ लाख र नेपालीलाई ७ लाख रुपैयाँसम्म पारिश्रमिक दिँदै आएको छ ।

पाइलट अभाव नेपाल एयरलाइन्समा मात्र होइन, पछिल्लोपटक यहाँ सञ्चालित स्वदेशी एयरलाइन्सको पनि मुख्य समस्या यही बनेको छ । निजी क्षेत्रमा सर्वाधिक यात्रु बोक्ने बुद्ध एयरले हालै ८ नेपाली विद्यार्थीलाई उनीहरूकै खर्चमा, स्वदेश फर्केपछि बुद्धकै जहाज उडाउने सर्तमा अमेरिका पढ्न पठायो । ‘जब ग्यारेन्टी गरेर ८ नेपाली विद्यार्थीलाई अमेरिका पठायौं, थप ८ जना एक महिनामा जाँदै छन्,’ बुद्धका निर्देशक रूपेश जोशीले भने ।

६ वर्षअघि नेपालमा पाइलट अभाव हुँदा बुद्धले तीन चरणमा ३० जना विज्ञान विषयमा १२ पास गरेका नेपाली विद्यार्थीलाई अमेरिका पाइलट कोर्स अध्ययनका लागि पठाएको थियो । चाँडै थप नयाँ देशी–विदेशी गन्तव्यमा जाने योजना बनाइरहेको बुद्धले नेपाली बजारमा पाइलट अभाव हुने देखिएपछि आफ्नो कम्पनीको सिफारिसमा भिसा लगाई अमेरिका पठाएको हो ।

बुद्धले जस्तै सरकारी स्वामित्वको निगमले पनि नेपाली विद्यार्थीलाई उनीहरूकै खर्चमा पाइलट तालिममा पठाउने तयारी गरिरहेको छ । नेपालमा भएका २१ वटा एयरलाइन्समध्ये सबभन्दा धेरै पाइलट चाहिने निगम नै हो । तर, निगमले पाइलट भर्नामा दरखास्त आहवान गर्दा प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्न सकिरहेको छैन । ‘साउनमा ३० जना जुनियर पाइलट माग गर्दै विज्ञापन गरेका थियौं, २८ जनाको मात्रै आवेदन पर्‍यो,’ निगमको मानव स्रोत विभागका निर्देशक रामप्रसाद खतिवडाले भने, ‘तीमध्ये १८ लिखितमा निस्किए । मौखिकसहित १२ जनाको मात्रै भर्ना गर्न सक्यौं ।’

पाइलटका लागि आह्वान गरिने विज्ञापनमा जहिल्यै पर्याप्त आवेदन नपाउने निगमले केही समयअघि प्रशासनका लागि १ सय ५२ कर्मचारी माग्दा ४२ हजारको आवेदन परेको थियो । यसैबाट नेपालमा प्राविधिक जनशक्ति अभाव रहेको छर्लंग हुन्छ ।

पछिल्लोपटक नयाँ हेलिकप्टर वा विमान कम्पनी खुलेपछि यिनले झेल्नुपर्ने मुख्य समस्या पाइलट अभाव नै बन्ने देखिएको छ । कान्छो एयरलाइन्स श्रीले जब साउनदेखि व्यावसायिक उडानका लागि पाइलट खोज्यो, तीनवटा एयरलाइन्समा उडाइरहेका एक दर्जन हाराहारी पाइलट श्रीमा पुगे । आकर्षक तलब सुविधा श्रीमा पाएपछि तारा, यती, सौर्य एयरलाइन्स पाइलटविरुद्ध अदालतमै गए । मुद्दा अहिलेसम्म टुंगिएकै छैन । ‘केही पाइलट साथीको मुद्दा विचाराधीन अवस्थामै छन्,’ श्री एयरलाइन्सका एक पाइलटले भने, ‘त्यसबेला ८ जना पाइलटविरुद्ध ती एयरलाइन्स अदालतमा मुद्दा दायर गर्न पुगेका थिए ।’

फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स विभागका अनुसार नेपालमा १२ वटा एयरलाइन्सका ५४ वटा ९फिक्स्ड विङ० र १० वटा हेलिकप्टर कम्पनीमा ३३ वटा (रोटर) विमान छन् । यी विमान उडाउने ३ सय ६७ नेपाली पाइलटले विभागबाट लाइसेन्स लिएका छन् । तर, अपरेटरहरू यो संख्या अत्यन्तै न्यून भएको बताउँछन् । नेपाली पाइलट अभावमा तिब्बत एयरलाइन्सको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले २६ जना विदेशी पाइलट राखेको छ ।

हिमालयनका प्रशासन उपप्रमुख विजय श्रेष्ठका अनुसार नेपाली बजारमा एयरबस ‘ए ३२०’ उडाउने पाइलट अभाव भएकै कारण विदेशी पाइलटबाट चारवटा अन्तर्राष्ट्रिय गन्तव्यमा काठमाडौंबाट उडान भइरहेका छन् । यस एयरलाइन्समा नेपाली पाइलटको संख्या २१ छ ।

दुइटा एयरबसका लागि तीन जना विदेशी पाइलट राखिरहेको निगमले साना चारवटा चिनियाँ विमान वाई१२ई उडाउन थप तीन चिनियाँ पाइलट ल्याउने प्रक्रिया थालिसकेको छ । नेपाली बजारमा यो वर्गको जहाज उडाउने प्रशिक्षक पाइलट (इन्स्ट्रक्टर पाइलट) र क्याप्टेन नपाइएपछि निगम पाइलट खोज्न विमान निर्माता मुलुकतर्फ लागेको हो ।

११ वटा हेलिकप्टर कम्पनीमध्ये श्री र मनाङबाहेक ९ कम्पनी विदेशी पाइलटकै भरमा छन् । विभागका एक उपनिर्देशकका अनुसार अहिले १० वटा हेलिकप्टर कम्पनीमा ११ वटामा विदेशी तथा ४३ वटामा स्वदेशी पाइलट छन् ।

‘कमर्सियल उडानमा रहने जहाजको तुलनामा हेलिकप्टर कम्पनीहरूलाई पाइलटको बढी अभाव छ,’ हेलिकप्टर पाइलट विवेक खडकाले भने, ‘पर्यटकीय सिजन सुरु भएपछि नेपाली पाइलटले मात्रै पुग्दैन, प्रायः सबै नेपाली कम्पनीले विदेशी बजारबाट पाइलट ल्याउनै पर्छ । नेपालमा पछिल्लोपटक दोस्रो पुस्ताको पाइलट नै तयार भएन ।’ नेपाली विद्यार्थी पाइलट कोर्स गर्न प्रायः अमेरिका, फिलिपिन्स र दक्षिण अफ्रिका जाने गर्छन् । पाइलट तालिममा ८० लाखदेखि १ करोड रुपैयाँँसम्म खर्च आवश्यक पर्छ । – कान्तिपुर दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार