काठमाडौं, २७ चैत – भ्रष्टाचारले लथालिंग बनेको मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालमा अहिले फेरि अर्को काण्ड मच्चिएको छ । वीर अस्पताल र ट्रमा सेन्टरमा अवैध तरिकाले तीनसय भन्दा बढी कर्मचारी नियुक्त गरेर भ्रष्टाचार गरिरहेको गिरोहले अहिले औषधी पसलहरूमा गुण्डागर्दी शैलीमा मासिक एक लाखभन्दा बढि रकम असुल्न थालेको बुझिएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
अस्पताल स्रोतका अनुसार वीर अस्पतालका विभिन्न औषधी पसलहरूमा उक्त गिरोहले एक लाखका दरले रकम उठाएको छ । पैसा नदिने पसललाई हटाइदिने धम्की दिँदै यो गिरोह सक्रिय अवैध रूपमा रकम उठाइरहेको छ ।
उक्त गिरोहलाई वीर अस्पतालका उपकुलपतिले समेत साथ दिएका छन् । उपकुलपतिले भ्रष्टाचार गर्ने गिरोहलाई कारबाही गर्नुको साटो उनीहरूबाटै आर्थिक लाभ लिई पैसा उठाउन छुट दिएको अस्पताल स्रोत बताउँछ । नियम कानुनको धज्जि उठाउँदै सर्वोच्च अदालतको परमादेशलाई समेत रद्दिको टोकरीमा फालेर यो गिरोहले यस अघि पनि मनपरी करार नियुक्ति गरेको थियो ।
जनताको सेवाका लागि भनेर स्थापना भएको वीर अहिले भ्रष्टाचारले लथालिंग बन्दा जनताले भनेको समयमा स्वास्थ्य सेवा लिन समेत पाएका छैनन् । वीरमा कार्यरत अधिकांश कर्मचारीले आफ्नालाई मात्र स्वास्थ्य सेवा दिने र अन्यलाई बेड छैन भन्दै दुःख दिने गरेको समाचार जनप्रहारले यस अघि नै प्रकाशित गरिसकेको थियो ।
वीरमा बसेर मनपरीतन्त्र गर्दै आएको समूहमा उपकुलपति गणेश गुरूङ, बैकुण्ठ लुईटेल (मेन्टीनेश सहायक), बिष्णु फुँयाल(अहेब), लक्ष्मण अर्याल (मेडीकल तथ्याङ अधिकृत), नवराज धिताल (कार्यालय सहयोगी) रहेका छन् । यो समूहलाई साथ दिनेमा स्टोर शाखाकी भगवती थपलिया पनि रहेको बताइएको छ ।
यो समूहले खुलेआम अनियमितता गर्दा पनि समन्धित निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय, सर्तकता केन्द्र र उपकुलपति स्वयम तै चूप मै चूप भएका छन् ।
यो समूहकै मिलेमतोमा वीरमा ४० करोडमा आउने क्यान्सर मेसिन ६० करोडमा किन्न सफल भएको छ । क्यान्सर मेसिन मात्र नभई फोर मैला व्यवस्थापन गर्ने मेसिनमा समेत लाखौं अनियमितता भएको बुझिएको छ । आन्तरिक मर्मतमा समेत यो समूहले चलखेल गरेको स्वयम् वीरका कर्मचारीहरू नै बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको निर्माणधिन भवनको ठेकेदारसँग पनि गुरूङ कै मिलेमतोमा यो समूहले बार्गेनिङ गरिरहेको छ । स्वस्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा समेत यो समूहले भ्रष्टाचार गरिरहँदा सर्वसाधरण जनता भने मर्कामा परेका छन् । यो समूहले अस्थायी र करारका कर्मचारीहरूको म्याद थप गर्दा समेत कमिसन लिने गरेको छ ।