दसैंमा मेलम्चीको पानी राजधानीवासीको धारामा

सिन्धुपाल्चोक, ३० चैत – बहुचर्चित मेलम्चीको पानी अब छिट्टै नै राजधानीवासीले पिउन पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना सुरु भएको १९ वर्षपछि अब राजधानीवासीले मेलम्चीको पानी खान पाउने भएका हुन् । आयोजनाको मुख्य सुरुङमार्गको काम सकिए लगतै अबको केही महिनाभित्र मेलम्चीको पानी राजधानीवासीको घरघरमा पुग्नेछ ।

खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग सिन्धुपाल्चोकको अम्बाथानेदेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २७ किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । मंगलबार नै सुरुङमार्गको ‘ब्रेक थ्रु’ भए पनि बिहीबार औपचारिक समारोहमार्फत सुरुङमार्गको काम सकिएको घोषणा गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले सुरुङ ‘ब्रेक थ्रु’ भएको अवसरमा भव्य कार्यक्रमको आयोजना गरेर यसलाई पर्वकै रूपमा मनाउने योजना बनाएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशन रामचन्द्र देवकोटाले जानकारी दिए ।

साथै सुरुङमार्गको काम सकिए लगतै अब आयोजनाले सुरुङ ‘फिनिसिङ’को काम सुरुवात गर्ने योजना रहेको कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए । छिटोमा साउनको पहिलो सातासम्म मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजलमा पानी खसाउने योजना छ देवकोटाले भने त्यसको केही समयपछि नै मेलम्चीको पानी घर–घरमा पुग्नेछ । – राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार