पण्डित श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग, यस्तो छ श्रीनिवासको पृष्ठभूमि

काठमाडौं, ३ वैशाख – पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपी अरुण विसीले भने । त्यसका लागि भारत गएको विशेष टोलीले कलडिटेल पत्ता लगाउने र शंकास्पद व्यक्तिको खोजी गरिरहेको उनले बताए ।

सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए । विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भयो । कोखमा गोली लागेका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको संयुक्त टोली परिचालन

घटनाको अनुसन्धानका लागि प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । मोरङ जिल्ला प्रहरी कार्यालय, धरानस्थित सङ्घीय प्रहरी र विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले परिचालन गरिएको एसपी बिसीले बताए ।

‘घटनामा संलग्न व्यक्ति र कारण पत्ता लगाउन परिचालित संयुक्त टोलीले प्राविधिक अनुसन्धान जारी राखेको छ । केही दिनमै रहस्य बाहिर आउनेछ,’ उनले भने । उनका अनुसार प्रदेश १ प्रहरीले पण्डित श्रीनिवासमाथि गोली प्रहार घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।

तीन गोली हाने : पण्डित

विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिरहेका पण्डित श्रीनिवास होसमा आएका छन् । प्रहरीले उनीसँग बयान लिन सुरु गरेको छ । उनले प्रहरीलाई दिएको बयानमा आफूमाथि तीन गोली प्रहार भएको बताएका छन् । ‘मंगोलियन अनुहारका दुईजनाले तीन गोली हाने । एउटा गोली लागेपछि मोटरसाइकल चढेर भागे,’ श्रीनिवासको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो ।

२५ चैत बिहान २ बजे शौचालय जाने वेला गोली प्रहार गरिएको थियो । घटनास्थलबाट प्रहरीले सेतो कागजमा कम्प्युटर टाइप गरेको एउटा सानो पर्चा मात्रै भेटेको जनाएको छ । त्यसमा उनीमाथि धार्मिक आक्षेप लगाइएको छ ।

दिनहुँ प्रदर्शन

पण्डित श्रीनिवासमाथि गोली प्रहार भएपछि उनका सर्मथकले दिनहुँ प्रदर्शन गरिरहेका छन् । घटनामा संलग्न व्यक्तिलाई तत्काल प्रक्राउ गरेर कारबाही गर्न उनीहरूले माग गर्दै आएका छन् ।

यस्तो छ श्रीनिवासको पृष्ठभूमि

सुनसरीको चक्रघटीमा स्थायी आश्रम निर्माण गरेर बस्दै आएका पण्डित श्रीनिवासले ०७२ साउन दोस्रो साता इटहरीमा आन्दोलन चर्काएका थिए । उनकै अगुवाइमा संविधानमा ‘नेपाल हिन्दुराष्ट्र’ राख्न माग गर्दै आन्दोलन भएको थियो ।

चक्काजाममा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो । चार दिन थुनामा राखिएका उनी आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेपछि छुटेका थिए । वैदिक सनातन हिन्दुराष्ट्र नेपाललगायतका विभिन्न संस्थासँग जोडिएर श्रीनिवासले हिन्दु जागरण अभियान चलाउँदै आएका छन् । यही क्रममा सिरहाको लहानमा सात दिन आमरण अनशन पनि बसेका थिए ।

त्यस्तै, ०७१ मा हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा धर्ना पनि बसेका थिए । गत २९ फागुनमा पूर्वराजा ज्ञानेन्द्रसमेत उनलाई भेट्न चक्रघटीस्थित आश्रममा पुगेका थिए । दुवैजनाबीच एक घन्टा कुराकानी भएको थियो । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार