ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण : देउवा

हेटौँडा, ४ वैसाख- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारबादी नेताको संज्ञा दिएका छन् । नेपाल तरुण दलले हेटौँडामा गरेको ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले ओली राष्ट्रवादी नेता हुनै नसक्ने बताएका हुन् ।

उनले हिमाल पहाड र मधेशलाई मिलाउन नसक्ने नेता राष्ट्रवादी हुनै नसक्ने बताए । उनले ओलीको देखावटी राष्ट्रवाद भारत पुगेर लम्पसारवादमा परिणत भएको बताए । ओली नेतृत्वको सरकार देशमा आर्थिक समृद्धि र विकासतर्फ भन्दापनि अधिनायकवादको विकास गर्न उद्धत भएको उनको आरोप छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताउनुभएको छ । टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताउनुभयो ।  सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताउनुभयो ।

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार