ओलीको ब्रिफिङ : भड्काउन खोजे पनि एकता हुन्छ

काठमाडौं, ४ वैशाख – अहिले एकता गरेर जाँदा प्रचण्डजीमा कहीँ न कहीँ हामी (माओवादी) छायामा पर्छौँ कि भन्ने आशंका देखिन्छ । एकतापछि कतै एमाले नै हाबी हुने हो कि, माओवादीको हैसियत कमजोर हुने हो कि भन्ने पनि देखिन्छ ।

यस्तो आशंकाबीच कतिपय मान्छेहरूले भड्काउनका लागि शंका भरिदिएको पनि हुनसक्छ । सम्मानजनक भनेर ५०/५० अनुपातमा एकताको कुरा त्यतिकै आएको पनि छैन । तर, जे होस् उहाँसँग सकारात्मक दिशामा कुरा अघि बढेको छ, विश्वासको वातावरण बन्दै छ । संयोजन समितिमा पनि थप छलफल हुन्छ र ९ गते नै पार्टी एकता घोषणा गर्ने गरी तयारी गर्नुपर्छ ।

दुई अध्यक्षबीच अढाइ घन्टा छलफल

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच एकताका टुंगिन बाँकी विषय पार्टी एकता संयोजन समितिमा छलफल गर्ने समझदारी भएको छ । दुई नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार भएको छलफलमा मंगलबार बस्ने संयोजन समिति बैठकमा छलफल गर्ने समझदारी भएको हो ।

‘उहाँहरूबीचको भेटवार्तापछि एकता संयोजन समितिको बैठक बोलाइएको हो,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने, ‘के कुराकानी भयो विस्तृत जानकारी नभए पनि बाँकी विषय टुंग्याएर एकता छिटो गर्ने दिशामै छलफल भएको छ ।’ एमाले र माओवादीले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा एकता घोषणा गर्ने बताउँदै आएका छन् ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच सोमबार बिहान साढे दुई घन्टा छलफल भएको थियो । साढे १० बजेदेखि १ बजेसम्म भएको छलफलका लागि प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच एकतासम्बन्धी कार्यदलले बुझाएको राजनीतिक र सांगठनिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईंले बताए । ‘छलफलमा भएको समझदारीअनुसार मंगलबार एकता संयोजन समितिको बैठक बोलाइएको हो,’ उनले भने ।

तीनपटक स्थगितपछि समितिको बैठक

गत २२ चैतमा बसेको एकता संयोजन समितिको बैठकले ९ वैशाखमा पार्टी एकता घोषणासभा गर्ने निर्णय गरेको थियो । तर, त्यसपछि बोलाइएका बैठक पटक–पटक स्थगित हुँदै आएका छन् । प्रधानमन्त्री ओली भारत भ्रमण सकेर फर्किएपछि २७ र २८ चैतमा बोलाइएको बैठक स्थगित भए । २७ चैतमा बिहान बोलाइएको बैठक स्थगित गरेर बेलुका डाकिए पनि पुनः स्थगित भएको थियो ।

एकतासम्बन्धी राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन तयार भइसके पनि ओली र प्रचण्डको व्यस्ततालाई कारण देखाउँदै बैठक बस्न सकेको थिएन । दुई पार्टीबीच केन्द्रीय कमिटीमा संख्या अनुपात, चुनाव चिह्न र विधान प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने विषय टुंगिन बाँकी छ । सोमबारको बैठकमा यी विषयमा छलफल भए पनि सहमति भइनसकेको प्रचण्डनिकट स्रोतले जनाएको छ  – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार