अन्याय गरेर छोएमा भष्म हुने श्रीयन्त्र सर्वोच्च अदालतबाट गायब !

काठमाडौं, ४ वैशाख । सर्वोच्च अदालतबाट ‘श्रीयन्त्र’ झिकिएको छ । धार्मिक र तान्त्रिक महत्व रहेको ‘श्रीयन्त्र’लाई सोमबार निकालिएको हो । प्रधान न्यायालय रानीपोखरीमा रहेका बेला तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले ‘श्रीयन्त्र’ राख्न लगाएका थिए । न्यायको प्रतीक मानिने ‘श्रीयन्त्र’ छोएमा कसैले अन्याय गरेमा भष्म हुनसक्ने धार्मिक विश्वास छ ।

पूर्वप्रधानन्यायाधीश प्रधानले अदालतमा पस्दासाथ र निस्कँदा ‘श्रीयन्त्र’ ढोग्थे । पछि सर्वोच्च अदालतको भवन बनेपछि सारिएको थियो । पूर्वन्यायाधीश प्रकाश वस्तीका अनुसार तन्त्रशास्त्रमा ‘श्रीयन्त्र’ को ठूलो महत्व छ । ‘श्रीयन्त्र’ लाई भगवान् शिवको अंश मानिन्छ ।

‘पूर्वप्रधानन्यायाधीशको नयनबहादुर खत्रीको पालामा ‘श्रीयन्त्र’ झिकिएको थियो,’ उनले भने, ‘सर्वोच्चको मर्मत गर्दा त्यसलाई हटाइएको थियो ।’ वस्तीलगायतले ‘श्रीयन्त्र’ कहाँ गयो भन्दै खोजी गर्दा सर्वोच्चको स्टोरमा लगेर राखिएको थियो ।

‘श्रीयन्त्र हराएको थिएन । सर्वोच्चको स्टोरमा राखिएको थियो’, वस्तीले भने, ‘महत्व नबुझेका कारण सर्वोच्चको स्टोरमा लगेर फालिएको थियो । हराएको होइन । श्रीयन्त्रको ठूलो धार्मिक र तान्त्रिक महत्व छ । पशुपतिनाथमा अहिले पनि श्रीयन्त्रको पूजा भएपछि मात्र अन्य पूजा गरिन्छ ।’ – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार