सरकारको निर्णय फिर्ता लिनुपर्ने नेविसंघको माग

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंका सात स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाउने सरकारको पछिल्लो निर्णय फिर्ता लिनुपर्ने माग गरेको छ ।

बैसाख १६ गते बाट लागु हुन गइरहेको उक्त निषेधाज्ञा फिर्ता लिन माग गर्दै नेविसंघले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौमा ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।

निश्चित स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाइने निर्णय फिर्ताका लागि दवाव दिन मंगलबार दिउँसो सवा १ वजे स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउन लागिएको नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिएका छन् ।
चैत ३० गते बसेको जिल्ला सुरक्षा समितको बैठकले काठमाडौंको खुलामञ्च, तीनकुने खुलाचौर, भुईंखेल चौर (भगवान पाउ), पेप्सीकोला खुला मैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला मैदान र सिफल चौर गौशालामा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाइने निर्णय गरेको थियो ।

वैशाख २ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सार्वजनिक सूचना जारी उक्त निर्णय वैशाख १६ गतेदेखि लागु हुने बताएका थिए ।  यस अघि गृहमन्त्री रामबहादुर थापाले गृह प्रशासन सुधार कार्ययोजनामा विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्ने र तोकिएको स्थानमा मात्रै प्रदर्शन गर्न पाउने उल्लेख गरेका थिए ।

गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनका क्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालयले निश्चित स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाइने निर्णय गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार