मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाही-महानगरीय ट्राफिक प्रहरी

काठमाडौँ, ६ वैशाख – महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत महानगरीय ट्राफिक प्रहरीले आग्रह गरेकाे छ ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताउनुभयो । “पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,” – उहाँले भन्नुभयो । उहाँले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गर्नुभएको छ ।

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पार्नुभयो । महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार