काठमाडौं, ९ वैशाख – नेताहरूको व्यस्तताले तयारीका लागि समय नपुगेकाले लम्बिए पनि अब छिट्टै एकता निष्कर्षमा पुग्छ । संयोजन समितिले दुवै अध्यक्षलाई प्रतिवेदन अध्ययन गरेर निष्कर्षमा पुर्याउने जिम्मेवारी दिएको छ । सम्भवतः बिहीबार बसेर उहाँहरूले छलफल गर्नुहुन्छ र छिट्टै एकता हुन्छ, माओवादी नेता अग्निप्रसाद सापकोटाले बताए ।
आलोपालोबारे समझदारी भइसकेकाले अहिले थप छलफलको विषय बनेको छैन । दुई अध्यक्षले आलोपालो अध्यक्षता गर्ने समझदारी भइसके पनि दुई अध्यक्षको औचित्य पुष्टि हुने गरी कार्यकारी अधिकार समान हुनुपर्ने कुरामा उच्च समझदारी हुन मात्र बाँकी हो ।
जनयुद्ध शब्दलाई कसरी प्रयोग गर्ने, चुनाव चिह्न के गर्ने र समग्रमा संख्या र दुवै पक्षबाट कताको कति हुने भन्ने बाँकी छ । यी सबैमा बृहत् छलफल गरेर दुवै अध्यक्ष चाँडो निष्कर्षमा पुग्नुहुन्छ । एकता भएकाले समानताका आधारमा हुनुपर्छ भन्ने नीतिगत कुरा हो । सर्वाधिक शक्तिशाली दुई धारबीचको एकता भएकाले कार्यनीतिक सवालमा प्रतिशतको कुरा आइसकेको छ ।
तर, एकता धेरै ठूलो रणनीतिक विषय पनि भएकाले ठ्याक्कै प्रतिशतको सूत्र लागू हुन्छ भन्ने हुँदैन । प्रधानमन्त्रीको आलोपालोको कुरा उठेको छैन, छलफलमा छैन । दुई अध्यक्षबीच जेन्टलमेन्ट एग्रिमेन्ट भइ नै सकेको छ ।- नयाँ पत्रिका दैनिक