काठमाडौं, ११ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मे ११ मा नेपाल भ्रमणमा आउने छन् । भारतीय राजदूत मञ्जिव सिंह पुरीले प्रम मोदी केही दिनभित्रै जानकीधाम दर्शन गर्न आउने कार्यक्रम छ भनेर खुलासा गरेका छन् ।
नेपाल सरकार किन बोल्दैन ? भारतका प्रधानमन्त्री नेपाल आउने कुरा समेत दिल्लीले तय गर्नुपर्ने, भन्नुपर्ने यो त अति भयो है । पाहुनालाई नेपालले स्वागत गर्ने, कहिले र कसरी गर्ने, सबै जिम्मा नेपालको हो कि भारतको ?
यसैवीच भारतबाट पञ्चेश्वरको खाका तयार गर्न र नेपालको सहमति खोज्न एउटा टोली नेपाल आएको छ । यो टोलीले पञ्चेश्वरका नाममा कोशी हाइड्यामबारे लविङ सुरु गर्दा पनि नेपाल सरकार तमासे भएर बसेको छ ।
ओली सरकार स्वाधीनतावादी भनेर थाकेको थिएन, स्वाधीनता कता चर्न गएछ ? राजदूत पुरीका अनुसार प्रधानमन्त्री मोदीले यो भ्रमणको क्रममा आफ्नो नेतृत्वमा पछिल्लो ४ वर्षमा के उन्नति भयो, के चिज बन्यो, उहाँको विचार, सबैको साथ सबैको विकास र आफूजस्तै कसरी तपाईँहरुलाई अगाडि लग्न सकिन्छ त्यस विषयमा अनुभव साट्नुहुनेछ ।’
समाचारअनुसार राजदूत पुरीले जनकपुरमा विकासले केही महिनाभित्रै कोल्टो फेर्ने विश्वास व्यक्त गरे । केही महिनामै जनकपुरमा रेल्वे ब्रोडगेज हुने, जनकपुरको सडकको अवस्था सुधार र एयरपोर्ट विस्तार भएपछि भारतलगायत विदेशबाट पर्यटकहरु जनकपुर आउने भएकाले जनकपुरको विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाई थियो ।
जनकपुरको भारतसँग रहेको सम्बन्ध निकै गहिरो र पुरानो रहेकाले कसैले चाहेर पनि कम गर्न नसक्ने उनको धारणा थियो ।
मोदी भ्रमणको तयारीमा जनकपुर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय दुतावासका अधिकारीहरुले स्थलगत अध्ययन गरेका छन् ।
भ्रमणको तयारी गर्न गृहमन्त्रालयमा र नेपालस्थित भारतीय दुतावासका अधिकारीहरुको टोली स्थलगत अध्ययन गरी फर्केका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।
मोदीको जनकपुर भ्रमणका क्रममा प्रयोग हुने स्थान र सुरक्षाबारे स्थलगत अध्ययन गरी टोली फर्केको छ, उनले भने, जानकाी मन्दिर दर्शन गर्ने रुट, सम्बोधनका लागि तिरहुतिया गाछी रंगभुमि मैदान बाह्रविघा र मन्दिर परिसरलगायत ठाउँको अवलोकन गरिएको छ ।