ओली सरकार निरंकुश र लुटतन्त्रवादी- डा. गोविन्द केसी

वैशाख, ११ काठमाडौं – डा. गोविन्द केसीले अहिलेको सरकार निरंकुश एवं स्वेच्छाचारी भएको बताएका छन् । माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने सरकारी निर्णयलाई डा. केसीले निरंकुशताको पहिलो अभ्यास भन्दै आफूले यो निशेधाज्ञा तोडेरै छाड्ने बताए ।

लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै डा. केसीले भने– ‘अहिले दुईतिहाइवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । यिनीहरु आफूलाई समाजवादी भन्छन्, साम्यवादी भन्छन् । तर, यिनीहरु न समाजवादी हुन्, न साम्यवादी हुन् । यिनीहरु लुटतन्त्रवादी हुन् । यिनीहरुलाई लोकतन्त्रको मूल्य मान्यता पनि थाहा छैन, मर्म पनि थाहा छैन ।’

माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने गरी सरकारले लगाएको निशेधाज्ञा फिर्ता लिनुपर्ने डा. केसीले बताए । उनले भने, ‘उनीहरुले यो निर्णय फिर्ता लिनुपर्छ, होइन भने म त जान्छु माइतीघरमा । म त्यहीँ गएर विरोध कार्यक्रम गर्छु ।’

तीन दिनअघि माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागिता जनाएका डा. केसीले अब सरकारले १५ गतेभित्र निर्णय फिर्ता नलिए त्यहीँ बसेर आन्दोलन सुरु गर्ने बताए ।

‘अरु मुद्दाहरु पनि उठाउने मैले विज्ञप्ति पनि निकालिसकेको छु । १५ गतेसम्म अल्टिमेटम दिएको छु, त्यसपछि म डेफिनेट्ली निशेधाज्ञा तोड्छु,’ विगतमा अनसनमार्फत आफ्ना मागहरु अघि सार्दै र सरकारलाई घुँडा टेकाउँदै आएका डा. केसीले भने, ‘म त अब त्यहीँ माइतीघर मण्डलामै बस्छु । मलाई पक्डिउन् । अरु मुद्दाहरु पनि त्यहीँ गएर गर्छु । अब त्यहीँ पक्डिउन् ।’

Online khabar Bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार