कांग्रेस सभापति देउवाले लिएनन‍् हारकाे जिम्मा

काठमाडौं, १६ वैशाख – विभिन्न विषयमा सहमति जुट्न नसक्दा कांग्रेस बैठक बस्न सकेन । पार्टी सभापतिको तर्फबाट महामन्त्री शशांक कोइरालाले बनाएको प्रतिवेदनमा पौडेलसहित अन्य पक्ष सहमत नहुँदा शनिबार बैठक बस्न नसकेको हो । शनिबार दिनभर सहमतिका लागि प्रयास भए पनि त्यसो हुन सकेन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

गत निर्वाचनमा भएको हारको जिम्मा सभापतिले लिनेबारे अधिकारिक निर्णय नै हुनुपर्ने अडानमा पौडेल पक्ष बसेपछि बैठक बस्न नसकेको कांग्रेस नेताहरूले बताएका छन् । निर्वाचनको हारबारे दुवै पक्षबीच मत बाझिएपछि शनिबार दिउँसोबाटै अनौपचारिक तहमा दुवै पक्षबीच संवाद थालिएको थियो । तर, शनिबार साँझसम्म अनौपचारिक कुराकानी मात्रै जारी रहेका कारण औपचारिक बैठक बस्न नसकेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेताबीच छलफल जारी रहेको र छलफलपछि बैठक बस्ने बताए । ९ चैतमा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार १३ औं बैठक बसी सकिने तयारी थियो । महामन्त्री कोइरालाले आफ्नो धारणा व्यक्त गर्दै निर्णय पेस गर्ने कार्यतालिका थियो । त्यसपछि सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै बैठक सकिने बताइएको थियो ।

बैठकले महासमिति भेलाको मिति, त्यसअघि जिल्ला सभापतिहरूको भेलाको मिति, विधान मस्यौदा समिति र निर्वाचन हारको सम्बन्धनमा निर्णय ल्याउने तयारी छ । देउवा पक्ष साउन १५ भित्र महासमिति भेलाको मिति तय गर्ने मनस्थितिमा छन् भने पौडेल पक्षले वैशाखभित्र जिल्ला सभापतिको भेला गरी जेठभित्रै महासमिति भेला गर्न माग गरेको छ । निर्वाचनमा हारको जिम्मा कसले लिने भन्ने विषय पार्टीभित्र पेचिलो बनेको छ ।

देउवा पक्ष निर्वाचनको हारको कारण वाम एकता भएको भन्दै आइरहेको छ भने पौडेल पक्ष पार्टी सभापतिका रूपमा देउवाले हारको जिम्मा लिनुपर्ने बताइरहेको छ । शनिबारको अन्तिम भनिएको बैठक प्रभावित हुनुको कारण यही हो ।

शनिबार दिउँसो पार्टी कार्यालयमै आयोजित मुस्लिम संघको अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले चाँडै पार्टीको महासमिति भेला बस्न लागेको बताएका थिए । कार्यक्रममा नेता पौडेलले कम्युनिस्टलाई देखाएर सभापति देउवाले आफ्नो कमजोरी लुकाउन खोजेको आरोप लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार