विप्लब समूहका कार्यकर्तालाई पार्टी प्रवेश गराउदै प्रचण्डले भने- क्रान्तिको नक्कल हुँदैन

काठमाडौं, १६ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताएका छन् ।  शनिवार उनकै निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०-२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।” अध्यक्ष दाहालले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिए।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उनको धारणा थियो । उनले भने, “जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो ।”

दुईचार दिन समय लिए पनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उनको भनाइ थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालले स्मरण गरे । त्यसलाई माओवादी नेतृत्व र विचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले भने, “पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भइएन । हाम्रा विरोधी माओवादी आन्दोलनलाई टुक्राटुक्रा बनाउन सफल भए ।”

माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लाबारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भने । अब सबै छरिएर रहेका माओवादी ढिलोचाँडो मूल पार्टीमा फर्कने उनको विश्वास थियो ।

उक्त कार्यक्रममा विप्लब समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज चिरन तामाङ, र सचिव कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरुले विप्लब नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंशतर्फमात्र अगाडि बढेन कतिपय सामाजिक आपराधिक क्रियाकलापजन्य घटनालाई समेत क्रान्तिकारी कामको जामा पहिर्‍याएर अगाडि बढ्ने बाटो समातेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार