नरेन्द्र मोदीको भ्रमण तयारी – जनकपुरमा भारतीय हेलिकोप्टर अवतरणको पूर्वाभ्यास

जनकपुरधाम, २० वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ ।

राजदूत पुरी नेतृत्वको टोलीले मोदीको अभिनन्दनस्थल बाह्रबिघा मैदान पनि अवलोकन गरेको छ । टोलीले प्रदेश २ का मुख्यमन्त्री, जनकपुर उपमहानगरपालिका मेयर तथा सुरक्षा अधिकारीसँग भ्रमण तयारीको जानकारी लिएको छ । टोलीले नेपाली पक्षलाई मञ्च व्यवस्थापनदेखि सुरक्षाको विषयमा सुझाबसमेत दिएको छ ।

राजदूत पुरी नेतृत्व टोलीले जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलाई पनि भेटेको छ । भ्रमणका क्रममा मोदीले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

भारतीय हेलिकोप्टर अवतरणको पूर्वाभ्यास

भारतीय इन्डियन फोर्सको हेलिकोप्टर बुधबार बाह्रबिघा मैदानमा अवतरण गरेको छ । जेडपी ५११९ हेलिकोप्टर पूर्वाभ्यासका लागि आएको हो । मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन् । भ्रमणका वेला तीन हेलिकोप्टर अवतरणका विषयमा अभ्यास गरिएको हेलिकोप्टरका पाइलटले सुझाबसमेत दिएका छन् । उनले नेपाली अधिकारीलाई ३० देखि ४० मिटरको दूरीमा हेलिप्याड बनाउन सुझाब दिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार प्रदेश २ सरकारले भने मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गराउन भारतीय पक्षलाई आग्रह गरेको छ । बाह्रबिघामा बालुवा–गिट्टी बढी भएकाले हिँड्न समस्या हुन सक्ने भन्दै यस्तो आग्रह गरेको स्रोतले जनायो ।

मोदी गाडीमै जानकी मन्दिर जाने
मोदी बाह्रबिघा मैदानबाट गाडीमै जानकी मन्दिर जाने भारतीय अधिकारीले नेपाली अधिकारीलाई जानकारी दिएका छन् । तर, नेपाली पक्षले गाडी र पैदल दुवै विकल्प राख्ने गरी तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हेलिकोप्टर भने बाह्रबिघाबाहेक स्थानमा अवतरणको व्यवस्था मिलाउने प्रदेश सरकारको तयारी छ ।

ओली र मोदीले सँगै पूजा गर्ने
मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी ओली जनकपुर आउने भएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गर्ने र सँगै जानकी मन्दिरमा पूजा गर्ने तयारी भइरहेको स्रोतले जनायो । उनीहरू ३० देखि ४५ मिनेट जानकी मन्दिरमा बस्ने बताइएको छ ।

पूजा सकेलगत्तै प्रधानमन्त्री ओली मन्दिरबाटै काठमाडौं फर्कने कार्यक्रम छ । तर, रक्षामन्त्री ईश्वर पोखरेल भने मोदीको भ्रमणभर जनकपुरमै रहने स्रोतको भनाइ छ ।

जानकी मन्दिरले दुवै प्रधानमन्त्रीलाई भव्य स्वागत गर्ने
भारतीय प्रधानमन्त्री मोदी र उनलाई स्वागत गर्न आउने प्रधानमन्त्री ओलीलाई जानकी मन्दिरले भव्य स्वागत गर्ने भएको छ । जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले दुवै देशका प्रधानमन्त्रीलाई भव्य स्वागत गर्ने तयारी गरिरहेको बताए । उनले भने, ‘दुई देशका प्रधानमन्त्री एकैसाथ जानकी मन्दिरमा आउनु ऐतिहासिक क्षण हो, त्यसलाई विशेष बनाउन हामी कुनै कसर बाँकी राख्दैनौँ ।’

मोदीसहित मञ्चमा चारजना मात्रै
मोदीले सम्बोधन गर्ने मञ्चमा चारजना मात्र राखिने भएको छ । मोदीसँगै प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह मञ्चमा बस्नेछन् । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार