सुन तस्करी अनुसन्धान भए वामदेवसम्म पुग्ने सङ्केत

काठमाडौं, २३ बैशाख – ३३ किलो सुन काण्डको लहरो राम्रोसँग अनुसन्धान भए सत्तारुढ दल एमालेका उपाध्यक्ष वामदेव गौतमसम्म पुग्ने देखिएको छ । छानबिन समितिले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको भोलिपल्टदेखि यो फाइल रोकिएर अदालत परिसरमा पुगेको हो ।

यहीँबाट केही शंका खडा भएका छन् । नेपालमा संगठित रुपले सुन तस्करीको काण्ड नै वामदेव गृहमन्त्री भएको बेलादेखि सुरु भएको हो । तत्कालीन दोस्रो प्रतिनिधिसभामा विसं. २०५५ पुस २८ गते संसदीय समितिले पेस गरेको प्रतिवेदन त्यसको जग हो ।

जसमा भनिएको छ, ‘अवैध रुपमा विदेशी मुद्रा, सुन, बहुमूल्य मालसामान ओसार–प्रसार गरिदिनेमा विमान चालक, परिचारिका, लोडर, क्लिनरलगायतका कर्मचारी संलग्न भएर क्याटरिङ सेवा गर्ने गाडी, फोहोर फाल्ने थैला प्रयोग गर्दै सामान वारपार गर्ने गरिएको देखियो । जसमा उच्चपदस्थ कर्मचारी र राजनीतिक व्यक्तिको संलग्नता पनि देखियो ।’

यो काण्डको सुरु नै तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री र नेकपा एमालेका वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेको सरकारको पालामा तस्करी संस्थागत भएको आवाज संसद्मा उठेपछि विसं. २०५४ सालमा संयुक्त संसदीय समिति बनाइएको थियो ।

त्यस प्रतिवेदनकै आधारमा कानुनी आधार तयार गर्न तत्कालीन नायव महान्यायाधिवक्ता (पछि सर्वोच्च अदालतका न्यायाधीश) बलराम केसीको संयोजकत्वमा एउटा कार्यदल बनाएर प्रतिवेदन थन्काइयो । अहिले यसको पुनरावृत्ति भए पनि गृह मन्त्रत्रालयका कर्मचारीको अनुसन्धान कसरी प्रभावित हुन्छ भन्ने सङ्केत एउटा सामान्य प्रक्रिया जस्तो भएको यो तस्करीलाई आधाउँधी पनि अनुसन्धान नभई अदालतमा प्रवेश गर्नुले देखाइसकेको मान्छन् विज्ञहरु ।

त्यसै साल एमाले पार्टी फुटेपछि एमालेका नेता प्रदीप नेपालले खुलामञ्चबाट भ्रष्टाचारीको नाम घोषणा गर्ने कार्यक्रममा दुई नं. भ्रष्टाचारी तकालीन गृहमन्त्री नेपाली कांग्रेसका खुम बहादुर खड्का र एक नं. भ्रष्टाचारी वामदेव गौतमलाई घोषणा गरेका थिए । त्यो घोषणा सभा यो पार्टीले विधिवत् आयोजना गरेको थियो र गौतमले विमानस्थलबाट आफैँले कसरी सुन ओसारे भन्ने विवरण सुनाइएको थियो ।

गृहमन्त्री हँुदा मात्र होइन, त्यसअघि यो दलको उपमहासचिव हुँदासमेत उनले यसरी नै सुन ओसारेको कुरा त्यहाँ बताइएको थियो । आरोपित र आरोप लगाउने व्यक्ति दुवै नै जीवित नै छन् । अहिलेको यो प्रकरणको प्रारम्भ खोतल्दा उहाँहरु दुवै एउटा मूल पात्र नै हुने ठान्न सकिन्छ ।

सूत्रका अनुसार यो छननबिन समितिले जरैमा पुग्न लागिएको जानकारी प्रधानमनत्रीलाई दिएको थियो । उताबाट यो जहाँ पुगेको छ, त्यही रोकेर कारबाही अघि बढाउन सङ्केत पाएपछि यो त्यस्तै भयो र प्रहरीका केही उच्च अधिकृतलाई जोडेर राजनीतिक तहलाई जोगाउन खोजिएको आरोप लाग्न थालेको छ । त्यसबेला टुँडीखेलको खुलामञ्चबाट घोषणा गरेको आरोप पूर्वाग्रही हुनसक्ला । तर, औंला भने ठडिएकै हो, जसको उत्तर अझै पनि खोज्नु सान्दर्भिक हुनसक्छ ।

जसले अहिले उठेका प्रश्नको जवाफ खोज्न मद्दत पु¥याउन सक्छ । तर, अहिलेको अनुसन्धान त्यहाँसम्म पुग्न चाहेको देखिएन ।
अहिलेको सुनकाण्डमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बिगो मागदाबी भएको छ । जिल्ला अदालत मोरङमा बुधबार पेस गरिएको अभियोगपत्रले वर्षाैंदेखि कसरी अवैध सुन तस्करी निर्बाध चलिरहेको थियो भन्नेबारे अनेकन तथ्य सतहमा ल्यायो । यो सुनको परिणाम ३३ किलो होइन ३३ टन रहेको पनि यहीँबाट खुलेको हो । आजभन्दा २० वर्ष अघि नै संसदीय छानबिन गर्नुपर्ने अवस्था थियो र त्यसबेला यो काण्डका नायक अहिले गोरे भनिएजस्तै वाम देव थिए । संसद्मा त्यसबेला छानबिनको माग हुँदा उठाइएका विवरण पनि झिकाएर हेरियोस् ।

यदि काम नगरी आरोप मात्र लाग्ने थियो भने अरु पनि व्यक्ति हुन्थे होलान् । किन यहाँ वामदेवकै नाम जोडियो भन्ने आफँै प्रस्ट हुन्छ । हावा नचली पात हल्लिदैन । अहिलेको प्रश्न हो त्यसबेला चलेको हावाको वेगलाई हेर्ने कि नहेर्ने । अहिले अदालतमा पेस गरिएका ६३ प्रतिवादी, पक्राउ परेकाको बयान र तिनीहरूको भूमिका सम्मिलित प्रतिवेदनले सुन तस्करीको संगठित अभ्यासबारे नयाँ तथ्य उधिनेको छ । तर, प्रक्रिया भने पुराने देखियो । तस्करीको माथिल्लो तहमा को–को थिए र यसलाई कसले भरथेग गरिरहेको थियो ? भन्नेबारे नयाँ प्रश्न जन्माइदिएको छ नै यो काण्डले र पुरानाहरुलाई पनि खोतल्न बाध्य बनाएको अवस्था छ ।

उच्च तहको वा संरक्षाण दिने व्यक्ति जीवित नरहेको अवस्थामा यति ठूलो काण्ड हँुदैन नै । तस्करको समूहले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीका उच्च अधिकारीहरूसँगको मिलेमतोमा कसरी गुपचुप अवैध स्वर्ण धन्धा चलिरहेको थियो भन्ने प्रतिवादीहरूको बयानबाट नै खुलेको देखिन्छ आधाउँधी बयानकै क्रममा ।

संगठित तस्करको समूहले फ्लाइ दुबई र थाइ एयरलाइन्समार्फत दुबईबाट सुन ओसारेको तथ्य अनुसन्धानले देखाएको छ । दुबईबाट आउने सुन मुख्यतः दुई तरिकाले विमानस्थलबाट बाहिरिने गरेको देखियो । पहिलो तरिका बिस्कुट आकारको सुन विमानभित्रको ट्वाइलेटमा हाल्ने र फ्लस गर्ने ।

उक्त सुन विमान ल्यान्ड भएपछि सफाइ मजदुरका रूपमा जाने कर्मचारीले ट्वाइलेटको दिशापिसाब जाने पाइप खोलेर दिशापिसाब सफा गर्ने भाँडामा राखेर बाहिर ल्याउने । दोस्रो तरिका भनेको विमानभित्र झोलामा राखेर ल्याइएको सुन विमानबाट ओर्लिने क्रममा प्रयोग हुने भ¥याङयुक्त गाडी (याम) को माथिल्लो भागमा बनाएको प्वालभित्र खसाल्ने । यसरी खसालिएको सुन भ¥याङको तल्लो भागमा गएर जम्मा हुन्थ्यो । यात्रु ओर्लिसकेपछि भ¥याङयुक्त गाडी पार्किङमा लगिन्थ्यो । सीसीटीभीको कभरेज नहुने उक्त क्षेत्रमा राति भ¥याङबाट सुन निकालेर बाहिर निकालिन्थ्यो । यस्तै कुरा भनेका थिए त्यो वर्ष एमालेका प्रवक्ता नेपालले पनि खुलामञ्चबाट ।

त्यसबेला गरिएको संसदीय अनसनधानको फाइल जसरी दबाइयो त्यसले पनि धेरै कुरा बताउँछ । सूत्र भन्छन्, यस्तो काम अहिले अपनाइएको तरिकाबाट सम्पन्न भएको होइन । विशेष समितिले चार सय २१ पटक विमानस्थल हुँदै सुन तस्करी भएको निष्कर्ष निकालेको अवस्था पनि त्यही हो ।

अभियोग पत्रमा गोरेको फ्ल्याटमा भेटिएको डायरीमा तस्करीको सुन ओसारपसारमा प्रहरीसँग सहयोग लिएबापत क–कसलाई कति रकम दिइएको थियो भनेर पनि उल्लेख छ, जसमा डीआईजी, एसएसपी, एसपी, डीएसपी र जवानलाई कुन समयमा कति रकम दिइएको थियो ? भन्ने उल्लेख छ । गोरेले तस्करीको सुन ओसारपसारमा सहयोग गरेबापत विभिन्न पटक गरेर प्रहरीलाई दुई करोड बीस लाख ७७ हजार रुपैयाँ दिएको देखिन्छ । स्रोतका अनुसार विशेष समितिले हस्तलिखित सबै डायरी परीक्षणका निम्ति प्रहरीको विधिविज्ञान प्रयोगशालाका पठाएको छ ।

परीक्षणपछि ती अक्षर कहिले लेखिएका थिए । ती एकै व्यक्तिले लेखेका हुन् कि फरक–फरक व्यक्तिले भन्नेजस्ता तथ्य खुल्नेछन् । विमानस्थलमा कार्यरत कर्मचारी राजन थापाको बयानले दुबईबाट आएको सुन कर्मचारीहरूले कसरी विमानस्थलबाहिर पु¥याउँथे भन्ने तथ्य खोतलेको छ ।

थापाले सुन लिएर आउने यात्रुलाई विमानस्थलमा कार्यरत कर्मचारी राज महर्जनले भेटेर नेपाल एयरलाइन्सको बसमार्फत जहाजको ह्यांगरमा लैजाने र त्यहाँबाट आफू र प्रेमलाल चौधरीले उक्त सुन लिएर विमानस्थलबाहिर आउने गरेको बताएका छन् । उनले २०७४ जेठको अन्तिम साता तीन केजी सुन विमानस्थलबाहिर पु¥याएबापत ५० हजार रुपैयाँ पाएको समेत बताएका छन् ।

थापाले प्रत्येक हप्ताको अन्तरमा गरी पाँच पटकसम्म सुन ओसारेको र त्यसबापत ५० हजार रुपैयाँका दरले रकम लिएको बताए । त्यसमध्ये एक पटक छ केजी र अर्को पटक आठ केजी सुन ओसारेको बताएका छन् । उनको बयानबाट त्रिभुवन विमानस्थलमा अवैध सुन तस्करीको धन्धा कसरी नियमितरूपमा गुपचुप चलिरहेको थियो भन्ने बुझाउँछ । २०७३ पुस २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विमानस्थलको भन्सार हुँदै बाहिरिएको साढे ३३ किलोभन्दा बढी सुन विमानस्थलको गोल्डेनगेट कटेपछि बरामद गरेको थियो ।

उक्त सुन तस्करीमा ब्यूरोले फरार अभियुक्तका रूपमा प्रतिवादी बनाएकाहरू नै पछिल्लो ३३ केजी सुन तस्करीमा समेत प्रत्यक्ष रूपमा संग्लन भएको भेटिएको छ । अघिल्लो सुन तस्करीमा विमानस्थल सुरक्षामा खटिएका एसएसपी श्याम खत्रीले विमानस्थलबाहिर निकाल्न सहयोग गरेका थिए ।

पछिल्लो सुन पनि एसएसपी खत्रीले आफ्ना चालक विष्णु खडकालाई भनेर एक ठाउँबाट अर्को ठाउँ पु¥याउन मद्दत गरेको देखियो,जनमञ्चमा उल्लेख छ ।  यी सबै विवरणले नै बताउँछन पुराना कुरा हेर्न थालियोस् । कतै एकपटक गृहमन्त्री तहबाट नै यस्तो मार्ग खोलेपछि त्यसको परम्परा कायम रहेको त होइन ? भन्ने अनुसन्धानले नै देखाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार