बैतडीमा बस दुर्घटना, १४ जना घाइते-राजमार्ग अवरुद्ध

बैतडी, २४ वैशाख –  बैतडीको दशरथचन्द राजमार्गमा सोमबार बिहान भएको बस दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१०, अनारखोलीमा बिहान पौने ३ बजे दुर्घटना भएको हो ।

बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि ब्याक हुन गई सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा चालक ३५ वर्षीय लोकेन्द्र थापासहित १४ जना घाइते भएका छन् ।

घाइते हुनेमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–४ का ३५ वर्षीय लोकेन्द्र थापा, सोही ठाउँका २२ वर्षीया सुस्मिता ऐरी, ८ वर्षीय आदर्श धामी, १६ वर्षीया पशुपति ऐरी, दार्चुला अपिहिमाल गाउँपालिका–५ का २८ वर्षीय शेरसिंह धामी, ५ वर्षीय रुपेश धामी, २२ वर्षीया बाग्मती धामी, रिजन धामी, १० वर्षीया हेमन्ती धामी, ८ वर्षीय विवेक धामी र ५ वर्षीय नितेश धामी रहेका छन् ।

यस्तै अन्य घाइतेमा बैतडीको दशरथचन्द नगरपालिका–२ का १९ वर्षीय वसन्त बोहरा, दार्चुला शैल्यशिखर नगरपालिका–७ का २२ वर्षीय रमेश खत्री र दार्चुला गुल्जर घर भई हाल कैलालीको रामपुर बस्दै आएका ५५ वर्षीय डंकुरे महरा रहेका छन् ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते सबैको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको बस बीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अहिले अवरुद्ध छ । सडक अवरुद्ध भएकाले दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी सडकमै रोकिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार