नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेज विच सहकार्य

काठमाडौं, २५ बैशाख — स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धान लगायतका कार्यहरुमा नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेजले सहकार्य गर्ने भएको छ ।  आज एक समारोहका बीच द्विपक्षीय सम्झौतामा नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नेपालगंज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनौडियाले हस्ताक्षर गर्नु भयो ।


नेपाल मेडिसिटी अस्पताल र नेपालगंज मेडिकल कलेज बीचको सहकार्यले पश्चिम नेपालमा गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवाबाट विरामीहरुले लाभ पाउने नेपाल मेडिसिटी अस्पतालका भाइस प्रेसिडेन्ट अनिल ओडुविलले बताउनु भयो ।

विशेष गरी हेली इमरजेन्सी सेवा, मुटु रोग, क्रिटिकल केयर सेवामा दुवै संस्थाले सहकार्य गर्ने उहांले बताउनु भयो । नेपालगंजलाई केन्द्रविन्दु बनाएर त्यसक्षेत्रका अस्पतालहरुलाई समेट्दै रेफरल प्रणालीको विकास गरी विरामीहरुलाई छिटोछरितो सेवा दिन आफूहरु लागीपरिरहेको नेपाल मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले बताउनु भयो ।

कार्यक्रममा नेपालगंज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनौडियाले नेपालको सबैभन्दा ठूलो नीजि क्षेत्रको मेडिकल कलेज २० वर्ष अगाडि पश्चिम नेपालमा ठूलो चुनौतिका साथ आफूहरुले शुरु गरेको बताउंदै आज आफूले गुणस्तरीय स्वास्थ्यकर्मी तथा सुलभ स्वास्थ्य सेवा पश्चिम नेपालमा पुर्याईरहेको बताउनु भयो ।

चिकित्सा सेवामा दक्ष जनशक्ति र त्यही अनुसारको प्रविधिहरुको समायोजन गरी उच्चस्तरको सेवा पुर्याउन नेपालमा अझ पनि चुनौति रहेको र त्यसका लागि आफूहरुले नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गरेको डा. कनौडियाले बताउनु भयो ।

नेपालको भौगोलिक अवस्थाको कारणले स्वास्थ्य सेवालाई सबै जनताहरुको बीचमा सहजताका साथ लैजान विभिन्न अवरोधहरु भए पनि यसप्रकारको सहकार्यले विरामीहरुलाई राहत पुग्ने नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनु भयो ।

नेपालबाट बर्षेनी २ लाखको हाराहारीमा नेपालीहरु उपचारका लागि भारत लगायतका देशहरु गईरहेको अवस्थामा अब नेपालीहरुलाई उपचारको लागि विदेश जानु पर्दैन भन्ने उद्देश्यका साथ नेपाल मेडिसिटी अस्पतालले सेवा प्रदान गरिरहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार