अहिलेको साहित्य कृत्रिम छ – साहित्यकार भट्टराई 

प्रा.डा. गोविन्दराज भट्टराई 

त्रिभुवन विश्वविद्यालय सेवामा प्रवेश गरेको ३५ वर्षपछि (डेढ वर्षअघि) पूर्णकालीन प्राध्यापन पेशाबाट सेवानिवृत्त भएका छन् वरिष्ठ साहित्यकार, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई । विद्यालय र विश्वविद्यालयमा गरेर करिब ४५ वर्ष अध्यापन गरेका भट्टराईको निवृत्त जीवन अहिले साहित्यसेवामा बितिरहेको छ । अंगे्रजी भाषा साहित्यको  प्राध्यापक भए पनि नेपाली भाषा साहित्यको सेवामा उनले लामो समय बिताए । नेपाली साहित्यलाई नजिकबाट नियालेका प्राडा भट्टाराईसँग राजेश खनालले गरेको कुराकानीः

अवकाशपछिको जीवन कसरी बितिरहेको छ ?

निवृत्त भए पनि मानसिक र भावनात्मक रूपले र कति अनुभवको तहले पनि अन्तिम समयमा गर्न नसकेका कामबाट फुर्सद पाइरहेको छैन । अहिले पनि मेरा आठ जना विद्यार्थी विद्यावारिधिको अनुसन्धानमा हुनुहुन्छ । उहाँहरूलाई हेर्नु मेरो कर्तव्य हो । यो मेरो नैतिक जिम्मेवारी पनि हो । यसलाई छोड्न मिल्दैन । त्यसो त यी सबै कर्मबाट निवृत्त भए हुन्थ्यो भन्ने लागेको हो तर यो प्राज्ञिक कर्मबाट हट्न सकिँदो रहेनछ । अरु समय त सबै मेरो निजी समय हो । यो समयमा निजी काम नै गरिरहेको छु । लेख्ने, बाँकी रहेका काम टुंग्याउने र पूरा गर्ने पालो आएको छ । त्यही काममा अहिलेको समय बितिरहेको छ ।

उसो भए ‘रिटायर्ड’ हुनुभएको छैन ?

निश्चय पनि म थाकेको, गलेको अथवा रिटायर्ड भएको छैन । हो, मैले कहिले निवृत्ति पाउँला र खुसीका साथ आकाशमा उडूँला अनि आफूले चाहेका काम गरौंला भन्ने सोचेको थिएँ । यो दृष्टिकोणबाट आनन्द भएको छ मलाई । ममा काम गर्ने ऊर्जा पनि उत्तिकै छ । यसका अतिरिक्त साहित्यिक कार्यक्रमहरूमा पनि भाग लिन पाइरहेको छु ।

अबको समय भनेको साहित्य, भाषा र लेखन, पठनको कर्ममा नै बित्नेछ । पहिले यति बजे क्लास छ, यति बजे यो बैठक छ भनेर लाग्नुपर्ने हुन्थ्यो । अहिले त्यो छैन । स्वतन्त्र भएको छु अहिले म । वास्तवमा अहिलेको यो समय मेरा लागि धेरै नै रोमाञ्चक छ । त्यसैले नेपाली साहित्यमा पूरा समय दिइरहेको छु ।

तपाईं अंग्रेजी साहित्यको प्राध्यापक तर नेपाली साहित्यमा पनि धेरै सक्रिय हुनुभयो । त्यसैले पनि नेपाली साहित्यलाई गहिरो गरी हेर्नुभएको छ । त्यसो भए आजको समसामयिक साहित्यलाई कसरी हेर्नुहुन्छ ?

मेरो प्राध्यापनको विषय अंग्रेजी साहित्य भए पनि सामान्यतया नेपालमा अंगे्रजी भाषा लेखापढी वा सिर्जनात्मक लेखनको माध्यम हुन सकेको छैन । शायद अहिले हुँदैन पनि होला । अंग्रेजी अहिले जीविका वा पेशाको माध्यममात्रै भएको छ । त्यसैले मैले नेपाली साहित्यका क्षेत्रमा कलम चलाउँदै गएँ । लेख्न त मैले अंग्रेजीमा पनि लेखें तर विशेषगरी मेरो हृदय नेपालीमै छ । किनभने, आफ्नो राष्ट्र, भाषा वा मातृभाषाका विषयमै मानिसले पहिले सोच्नुपर्छ । त्यसमै सिर्जना शक्ति बढाउनुपर्छ । हामीले लेख्ने, पढने काम आफ्नै भाषामा गर्नुपर्छ भन्छु म, सबै साथीभाइहरूलाई ।

अहिलेको नेपाली साहित्यलाई मैले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छु । यसरी हेर्दा नेपाली साहित्यमा धेरै उपन्यास, नाटक, नियात्रा, कथा वा अन्य विधाका पुस्तकहरू आइरहेका छन् । तर, गम्भीर कृति भने आएका छैनन् । उहिलेका गुरुप्रसाद मैनाली, लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछाने, पारिजातजस्ता युगान्तकारी लेखकलाई चिरेर कुनै कृति आउन सकेनन् । कवितामा अहिले पनि ‘टावरिङ फिगर’ भनेको बैरागी काइँलामात्रै हुनुहुन्छ । यसरी हेर्दा नेपाली साहित्यमा गम्भीर कृति अहिले कसैले पनि दिन सकिरहेका छैनन् । पहिलेका साहित्यकारहरू, जसले एउटा इतिहास रच्नुभयो, उहाँहरूको उपस्थिति पनि तुलनात्मक रूपमा कमै छ ।

आजको समयमा पुरस्कारहरू धेरै छन् । सम्मानहरू धेरै छन् । प्रशंसाहरू धेरै छन् । किताबहरू धेरै छन् । तर, त्यो साहित्य होइन । साहित्य त गम्भीर हुनुपर्छ । साहित्य त शक्तिशाली हुनुपर्छ । त्यसले पाठकको हृदय हल्लाउन सक्नुपर्छ । पहिलेका साहित्यकारहरूले त्यस्तै हृदय हल्लाउने साहित्य लेखे । अहिले त्यस्तो साहित्य जन्मिन सकेको छैन ।

प्रकाशित किताबहरूको संख्या त धेरै छ त ! चलेका पनि छन् ।

हो, संख्यात्मक रूपमा नेपाली किताब बढेका छन् । लेखक बढेका छन् । धेरै विषयमा धेरै किताब लेखिएका छन् । पाठकहरू पनि बढेका छन् । पुस्तक पसल बढेका छन् । उत्साह बढेको छ । पढ्ने माध्यम पनि बढेका छन् । पेपर मिडिया होस् वा अनलाइन मिडिया— उत्तिकै बढेका छन् । तर, त्यो अनुपातमा स्तरीय साहित्य लेखन बढ्न सकेन । अहिले प्रशंसाको खेती धेरै हुँदै गएको छ । प्रचार धेरै हुँदै आएको छ । तर, विडम्बना ! गम्भीर र पठनीय, युगयुगान्तर जीवित रहने कृति आएको छैन ।

अहिलेको साहित्यमा समाज बोल्दैन भनियो भने ठीक हुन्छ कि गलत ?

ठीक हो । आजको साहित्यमा समाज बोल्दैन । माटोको सुगन्ध भेटिँदैन । समाजको कथा भेटिन्न । आजभोलि समाजलाई नछोएरै, गाउँलाई नछोएरै, समाजमा विद्यमान संस्कृति, मान्यता र कर्महरूलाई नछोएरै माथि–माथि बतासमा उडेर साहित्य लेखिँदै आएको छ । खासमा अहिले साइबर कल्चरले गर्दा भुइँ नै नटेकी साहित्य लेख्ने चलन मौलाएर गएको छ । एकथरी मानिस जमिन नछोई, जमिनको यथार्थ नछोई सिद्धान्त वा आदर्श वा अरु परिकल्पनात्मक कुरा लेखेर साहित्य बनाइरहेका छन् । समाजका पात्र, घटना र परिवेशलाई ‘इग्नोर’ गरेर माथि–माथि उड्दै लेख्ने काम हुँदै आएको छ । यो अवस्थामा समाजको वास्तविक कुरा आउँदैन ।

त्यसो भए अहिले साहित्यमा हामी जुन वजन खोजिरहेका हुन्छौं, त्यो नभएकै हो ? जस्तो गुरुप्रसाद मैनालीको ‘नासो’को वजन आज पनि उस्तै छ ।

आजको लेखन एक किसिमको कृत्रिम लेखन हो । ‘नासो’को कुरा गर्नुभयो, त्यसमा समाजको माटो, धूलो, रुख, जरा र संस्कृतिको सानोभन्दा सानो कणसँग मानिस जोडिएको छ । अहिले हामीले मानिरहेको संस्कृतिप्रति पनि मानिसको उपेक्षाभाव बढ्दै गएको छ । वेवास्ता बढिरहेको छ । जुन–जुन कुराले हाम्रो ग्रामीण जीवन सुशोभित हुन्थ्यो, त्यो आज नष्ट भएर गइरहेको छ । आज कृत्रिमतामात्रै बाँकी छ । शायद त्यसैले शब्दहरू पनि सिद्धिए, ‘कन्सेप्ट’हरू पनि सिद्धिए । त्यसबाट आउने चिजहरू पनि लगभग सिद्धिए । भन्ने नै हो भने यतिबेला कृत्रिम साहित्य अगाडि बढिरहेको छ ।

यो बाटोले कहाँ लैजान्छ त नेपाली साहित्यलाई ?

यो हामीले रोजेको बाटो होइन । यो आफैं हिँड्दै जाँदा बनेको र पुगेको बाटो हो । विकास आयो भन्दै, गाडी आयो भन्दै, मेसिन आयो भन्दै हामी रमायौं । त्यसलाई नै घे¥यौं, नाच्यौं र खुसी भयौं । यसरी चारैतिर मेसिनै मेसिनको भीड लगायौं । अब हामी यसबाट उम्किन सक्दैनौं । मानिस शहर पसिरहेका छन् । साना–साना बजार पनि शहर बनेका छन् । यसबाट उम्किने बाटो त छैन तर यसैमा एउटा ‘नोस्टाल्जिया’ वा अतीत प्रेमलाई जोडेर राख्न सकिन्छ होला । हैन भने यो बिस्तारै बिर्सिंर्दै गइन्छ ।

अहिलेको बाटोले हामीलाई दिशा दिँदैन । यन्त्रहरूले घेरिसकेको हुँदा नराम्रो भए पनि हामी त्यही दिशामा हिँड्नुपर्ने बाध्यता छ । अहिले जमिनको लेखाइ कम छ । कृत्रिम लेखाइ ज्यादा छ । जसरी खान लाउनमा कृत्रिमता बढेको छ, त्यस्तै कृत्रिमता लेखनमा पनि बढ्दै गएको छ । अहिलेको पुस्ता यतैतिर लागिरहेको छ ।

अखिर समाज त अहिले पनि छ । घटना परिवेश त अहिले पनि छन् । त्यसको अलिकति अंश त हुनुपर्ने हो नि ?

आजको समाज नै यहि कृत्रिमतामा रुमल्लिसकेको छ । शुद्धता कहीँ पनि, कतै पनि छैन । अहिलेसम्म हामीले पुराना कुराहरू लेख्दै छौं । अब आउने पुस्ताले त्यो लेख्न सक्छ भन्ने मलाई लाग्दैन । अघि नै पनि भनियो, अहिलेको साहित्य जमिनमा छैन, जमिनभन्दा माथि अन्यत्र कतै छ । यथार्थ कम्ती छ, बतासमा उडिएर लेखिएको कृत्रिमता बढी छ ।

आजको साहित्य कमजोर हुनुमा साहित्यकारहरूमा अन्य भाषाको साहित्यको अध्ययन नहुनु पनि हो भन्ने मलाई लाग्छ । यथार्थमा, साहित्यको क्षेत्रमा काम त भइरहेको छ तर प्रशंसा गर्न लायक काम भएको छैन ।

एक समय उत्तरआधुनिकताको कुरा उठाउनुभएको थियो । के हो त्यो ?

यो विषयलाई मैले छोडेको छैन । नेपालमा त्यो व्यापक पनि भएको छ । पहिले–पहिले यो विषय नौलो थियो । अहिले विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश भएको छ । यो विषयमा विद्यावारिधि गर्ने व्यक्ति पनि छन् । उत्तरआधुनिकतालाई लिएर धेरै कृति पनि निस्किए । मुख्य कुरा के भने अघिको बाटो वा यथास्थितिबाट नौलो बाटो लिनुपर्छ भन्ने मान्यताका साथ यो सिद्धान्त अगाडि आएको हो । यथास्थितिले बिगार्छ, यथास्थितिबाट बाहिर आऊँ भन्ने आह्वान हो यो । सबैले केही नवीनता लिऊन् भनेरै यो सिद्धान्त आएको हो । उत्तरआधुनिकताका १०–१५ किसिमका हाँगा छन् । डायस्पोरा यसैको एउटा हाँगो हो । हुन त यसको केही अपव्याख्या पनि भएको छ । तथापि, नयाँ परिस्थितिमा जे–जे आएका छन्, तिनलाई उत्तरआधुनिकतामा पारिएको छ । अब पुराना सिद्धान्त हुँदैनन्, नयाँ सिद्धान्त खोज्नुपर्छ भनेर नयाँको आह्वान नै उत्तरआधुनिकता हो ।

त्यसो भए अहिलेको साहित्य उत्तरआधुनिकताकै मार्गमा हिँडेको छ भन्न सकिन्छ ?

त्यस्तो होइन । अहिलेको साहित्य कृत्रिमतामा रुमल्लिएको छ । बस् ।

प्रगतिशील खेमाका लेखकहरूले त उत्तरआधुनिकताको सिद्धान्तलाई मानिरहेका छैनन् नि !

नमान्नेलाई त के भन्ने र ! यही हावा छ, यही बतास छ, तर म सास फेर्दिनँ भनेजस्तै हो उहाँहरूको भनाइ । नौलो कुरो आउँदा उहाँहरूलाई के लाग्छ भने यो माक्र्सवादको विरोध गर्न आएको हो । अब त माक्र्सवादको भ्यालु केही पनि छैन । माक्र्सवादले साम्यवाद पनि ल्याउँदैन । साम्यवादले जगतको मुख पनि फेर्दैन । केही नयाँ कुरा आउँदा माक्र्सको सिद्धान्त बिग्रिन्छ भन्ने उहाँहरूको सोचाइ छ । उत्तरआधुनिकतामा १९ वटा सिद्धान्त आए । माक्र्सवादमा एउटा छ । उहाँहरू वैचारिक अधिपत्य चाहनुहुन्छ । त्यो त कसैले पनि मान्दैन नि ! बहुलता चाहिन्छ । नेपालमा अहिले बहुल विचार, बहुल जाति, बहुल भाषाको कुरा आई नै सकेको छ ।

वास्तवमा यो नयाँ किसिमको सिद्धान्त आफूहरूले ल्याउन पाएको भए हुन्थ्यो भन्ने उहाँहरूको सोचाइ हो । तर, त्यसो भएन । यो अरुले ल्याइदिए । यही भ्रान्तिमा पर्नुभएको हो उहाँहरू । त्यसैले यसको विरोध भएको हो । तर, जति साम्यवादी साथीहरू हुनुहुन्छ, उहाँहरू सबै यसै सिद्धान्तमा रहेर काम भने गरिरहनुभएको छ । बस्, थोरै माक्र्सवादी अत्तर घस्नुहुन्छ ।

समन्वयको बाटो कुनै छ ?

समन्वयको बाटो नै बहुलता हो । यसमा नराम्रो केही पनि छैन । विविधतालाई स्वीकारौं भन्ने हो । हामीले सबैलाई हेरौं भनेका हौं ।  एउटामात्रै सिद्धान्तलाई मान्नु भनेको त डिक्टेटरसिपलाई मानेको हो नि, हैन र ? त्यसैले बहुलतामा जाऊँ । विविधतामा जाऊँ । कसैलाई घृणा तथा द्वेश नगरौं । बस् आफूले चाहेको देउताको पूजा गरौं ।

यो वैचारिक विवादले नेपाली साहित्यका पाठकलाई असर गर्छ कि गर्दैन ?

गर्न सक्छ । यद्यपि, सुसूचित नभइकन एकोहोरो पढिरहे भने त्यसले असर गर्न सक्छ । लेखनमा के आइरहेको छ, कुन धार वा सिद्धान्तले साहित्यलाई दिशानिर्देश गरिरहेको छ भन्ने कुरा बुझे भने त्यसले त्यो रूपमा असर नगर्न सक्छ । जस्तोः अहिले नारीवाद आएको छ, जनजातिका विषय आएका छन्, डायस्पोरा पनि आएको छ— यी सबै त उहिले–उहिले थिएनन् नि । यी केही वर्षयतादेखि नै देखिएका हुन् । यी कहिल्यै नभएका चिज आएर भरिएको छ हाम्रो साहित्यिक परिवेश । अहिलेका पाठकलाई यस्ता–यस्ता चिज आएका छन् है भनेर सिद्धान्तले बुझाउँदै लैजानुपर्छ । अनि त्यसअनुसारको साहित्य तिनले पढ्छन् नै । सहअस्तित्व र सहभाव नै हो सबैभन्दा मूल तत्व हो । एकआपसमा मिल्ने बाटो भनेको आपसी प्रेम र सहअस्तित्वको नै हो । संसार बहुलताले भरिएको छ, यत्ति स्वीकारौं । हामी पनि स्वीकार्छौं, तपाईंहरू पनि स्वीकार्नुस् ।

तपाईंको विश्लेषणमा नेपाली साहित्यका पाठकले आज के खोजिरहेका छन् ?

मिडियाको व्यापकताले गर्दा एउटा पक्ष वा वर्ग क्षणिक तुष्टि र क्षणिक उत्तेजनामा लागिरहेको छ । जस्तो हाइकु, ताङका, मुक्तक, गजलको एउटा जेनेरेसन छ । यो त्यति स्थायी र त्यति माथि पुग्ने तत्व होइन । यो खहरेमात्रै हो । म यसमा त्यति स्थिरत्व र शक्ति देख्दिनँ । यसमा चरित्र र पात्र पनि देखाउन सकिँदैन । यो निमेषभरको झिल्कामात्रै हो । त्यही पनि केही व्यक्ति ‘रिक्रिएसन’मा हुनुहुन्छ, त्यसमा खुशी मान्नैपर्छ । अहिले लोकप्रिय विधा भनेको उपन्यास र यात्रा साहित्य भएको छ । तर, त्यसमा पनि त्यति गम्भीरता भेटिँदैन । उपन्यास लेखनले गति लिएको छ तर गम्भीरता छैन । खोज्नलाई पाठकले गम्भीरता र गहनता नै खोजिरहेका छन् । तर, पछिल्लो समयमा फेसबुके साहित्य हावी भएको छ, जसमा कुनै गम्भीरता र गहनता छैन ।

नेपाली साहित्यमा उत्कृष्ट कृति जन्मिएका हुन् । तर, अनुवाद गरेर हामीले विश्व साहित्य बजारमा त्यसलाई किन पुर्‍याउन सकेनौं ?

अनुवाद गरेर बाहिरका कृति यता ल्याउने काम भइरहेको छ तर यताका राम्रा कृति उता लैजाने काम भने हुन सकेको छैन । नेपालका राम्राराम्रा वस्तुहरू छिमेकी मुलुक भारतसम्म पनि प्रवेश गर्न सकिरहेका छैनन्—चाहे त्यो अलैंची होस् वा अदुवा वा साहित्य । नेपाली साहित्य यस्तै चेपुवामा परेको छ । नेपाली कृति विश्वमा नपुग्ने खालका नभएका होइनन् । दिल्लीका नाम चलेका पुस्तक प्रकाशकले नेपाली कृतिलाई अनुवाद गरेर विश्व बजारमा पुर्‍याइदिए हुन्थ्यो । तर, नेपाली साहित्यलाई दिल्ली टेक्नै कसैले दिँदैनन् । भारतीय प्रकाशकले पनि नेपाली सिर्जनालाई स्थान दिएका छैनन् । एक किसिमको असन्तुलन विद्यमान छ ।

तेस्रो मुलुकका प्रकाशकसम्म कुरा किन पुग्दैन ?

तेस्रो मुलुकका अक्सफोर्ड वा क्याम्ब्रिजजस्ता प्रकाशनसम्म पुग्ने नेपालीको क्षमता देखिँदैन । अब यो सम्पर्क नभएर हो वा राम्रो अंग्रेजी नभएर हो वा अरु कुनै कारणले हो, म भन्न सक्दिनँ । वास्तवमा हामीले प्रयास पनि गरेका छैनौं, त्यतातिर । यो महासागरभन्दा बाहिर हाम्रो अस्तित्व छ भनेजस्तो मलाई लाग्दैन । यसले हामीलाई दुःख पनि हुन्छ, हीनताबोध पनि हुन्छ ।

आज अमेरिका, बेलायतलगायतका कैयन् मुलुकमा धेरै नेपाली छन् । त्यहाँबाट किन पहल नभएको होला ?

यस्तो म पनि सोच्छु । उता रहेका नेपालीले नेपाली कृतिको अनुवाद गरेर विश्व बजारमा पु¥याइदिए हुन्थ्यो । म अमेरिका, बेलायतलगायतका कति मुलुक घुमें । तर, त्यहाँ रहेका नेपालीले नेपाली कृतिलाई अंग्रेजी वा अरु कुनै भाषामा लगेको वा लाने कोसिस गरेको प्रमाण केही पनि भेटिनँ । सुन्दा उहाँहरूलाई दुःख लाग्ला तर उहाँहरूले यो विषयमा प्रयत्न गर्नुभएकै छैन । शायद जीविका वा आर्जनका काममा मात्रै लाग्नुभएको छ । नेपाली साहित्य हाम्रो सम्पदा हो, सम्पत्ति हो, त्यसलाई चिनाउनुपर्छ भन्ने उहाँहरूले सोच्नुभएकै छैन । अहिले पनि राम्रो कृतिको अंग्रेजी वा अन्य कुनै भाषामा अनुवादको थालनी ग¥यौं भने केही वर्षपछि नेपाली कृतिको बजार उता बढ्न सक्छ । तर, अफशोच ! कुनै थालनी भएको छैन ।

यसका लागि के गर्न सकिन्छ ?

राज्यले एउटा उच्चस्तरीय समिति निर्माण गरेर नेपाली साहित्यलाई विश्व पुस्तक बजारमा चिनाउने प्रयत्नका लागि काम गर्न सक्नुपर्छ । त्यसका लागि खर्च पनि हुन्छ । राज्यले त्यो गर्न सक्नुपर्छ । अनुवादक, सम्पादक सबै उत्कृष्ट कोटिका जनशक्ति खोजेर त्यो समितिले अनुवादका काम गराएर विश्व बजारमा पु¥याउने काम गर्न सक्छ । त्यसपछि मात्रै केही होला तर त्यो प्रयास पनि हुने देखिँदैन ।

राज्यले प्राज्ञिक क्षेत्रलाई उपेक्षा गरेकै हो त ?

यो उपेक्षामात्रै होइन, महान् उपेक्षा गरेको हो । यस्तो उपेक्षा कुनै पनि राज्यले गर्दैन ।

तपाईंले धेरै किताबको भूमिका लेख्नुभएको छ । यसरी भूमिका लेख्दा नै ‘क्वालिटी कन्ट्रोल’का लागि आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्नसक्नु हुन्थ्यो नि !

मैले भूमिका लेखेका किताबहरूमा कुनै त्रुटि वा कमी देखेको छु भने मैले त्यो लेखेको नै हुन्छु । अर्को कुरो— भूमिका लेखेर मैले केही बिगारेको छु भन्ने मलाई लाग्दैन । अब हेर्नुस्, कोही मसँग भूमिकाको आशा गरेर आउनुहुन्छ भने मैले उहाँलाई निराश गर्नु हुँदैन । एउटा केही लेख्छु भनेर आएको लेखकलाई मैले उपेक्षा गरें भने ऊ कुण्ठित हुन्छ । एउटा आउन लागेको किताब थन्किन्छ । त्यसैले पनि मैले तिनलाई ‘इन्करेज’ गर्नलाई भूमिका लेखिदिँदै आएको हुँ । मैले भूमिका लेख्दिनँ भन्दा पनि भाइहरू पर्खनुहुन्छ । तीन वर्षसम्म पनि पर्खनुभएको छ कतिपय लेखक ।

भूमिका लेख्दा जनजातिलाई बढी उचाल्नुहुन्छ भन्ने आरोप पनि कतिपयले लगाउँदै आएका छन् तपाईंमाथि । सही हो ?

हेर्नुस्, एक त म पूर्वबाट, जनजातिहरूको गाउँबाट आएको मानिस परें । मैले उहाँहरूको  निकट रहेर उहाँहरूका धेरै कुरा बुझेको छु । उहाँहरूको भाषा, बोली, संस्कृतिका आभाहरू म बुझ्छु । त्यसैले पनि मैले उहाँहरूलाई सहयोग गरेको हुँ । अर्को कुरो— जातीय अध्ययन भनेर विश्व साहित्यको सिद्धान्तको हाँगोमा नै परेको छ । जसरी उत्तरआधुनिकताको सिद्धान्तमा सबै पक्षको रक्षाको कुरा अटाउँछ, त्यसरी नै जनजाति साहित्यको रक्षा गर्नुपर्छ भन्ने कुरा पनि आएको छ । यसैकारण पनि मैले यो पक्षमा बढी ध्यान दिँदै आएको हुँ ।

12 khari वाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार