भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणमा आज नेपाल आउँदै

जानकी मन्दिरमा शंखनाद गरेर स्वागत

काठमाडौं, २८ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणको सिलसिलामा शुक्रबार जनकपुर हुँदै काठमाडौं आउँदैछन् । प्रधानमन्त्री मोदी नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकप्टरमा शुक्रबार बिहान सबा १० बजे जनकपुर आइपुग्ने कार्यक्रम छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।

जानकी मन्दिरमा शंखनाद गरेर मोदीको भव्य स्वागत हुनेछ । त्यसपछि दुवैले जानकी मन्दिरमा संयुक्तरुपमा पूजा गर्नेछन् र पत्रकारहरुसँग साक्षात्कार हुनेछन् । जानकी मन्दिर क्षेत्रमा करिब ४५ मिनेट बिताउने मोदी र ओलीले जनकपुरबाट अयोध्या चल्ने बसको शुभारम्भ गर्नेछन् ।

यसअघि उनले सन् २०१४ को अगस्ट र नोभेम्बरमा प्रधानमन्त्रीका रूपमा दुईपटक नेपाल भ्रमण गरेका थिए। ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको निमन्त्रणामा मे ११ देखि १२ ९वैशाख २८ देखि २९ गतेसम्म सम्म म नेपाल भ्रमणमा जाँदैछु,’ नेपाल आउनु एक दिनअघि आफ्नो फेसबुक पेजमा मोदीले लेखेका छन्, ‘प्रधानमन्त्रीका रूपमा यो मेरो तेस्रो नेपाल भ्रमण हुनेछ । यसले नेपाललाई भारतले उच्च प्राथमिकता दिएको छ भन्ने प्रतिबिम्बित गर्छ ।’ उनले नेपालसँगको पुरानो, निकट र मैत्री सम्बन्ध रहेको स्मरण गरेका छन्।

आफ्नो नेपाल भ्रमणलाई मोदीले गत महिना नेपालका समकक्षी केपी शर्मा ओलीले गरेको भारत भ्रमणकै निरन्तरता भएको बताएका छन् । मोदीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘यी उच्चस्तरको भ्रमण तथा नियमित अन्तरक्रियाले मेरो सरकारको ‘छिमेकी पहिला’ भन्ने नीतिप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गर्छन् ।’ उनले आफ्नो नीतिको मूल उदेश्य ‘सबैको साथ, सबैको विकास’ रहेको स्पष्ट पारेका छन् ।

पछिल्ला वर्षमा नेपाल र भारतले द्विपक्षीय कनेक्टिभिटी तथा विकास परियोजनाहरु संयुक्त रुपमा सम्पन्न गरेको उनले बताएका छन् । दुई देशको हितमा हुने गरी यी परियोजनाहरु सम्पन्न भएको तर्क उनको छ ।

ओलीको भारत भ्रमणका बेला केही महत्त्वपूर्ण आपसी हितका मुद्दा अघि बढाउने सहमति भएको जनाउँदै ती विषयहरुमा आफ्नो नेपाल भ्रमणका बेला थप छलफल गर्नेसमेत भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।‘काठमाडौंबाहेक जनकपुर र मुक्तिनाथको पनि भ्रमण गर्नेछु । यी दुवै स्थलले प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटक आकर्षित गर्दै आएका छन् ।

जनकपुर र मुक्तिनाथ भारत र नेपालका जनताबीचको प्राचीन, सांस्कृतिक र धार्मिक सम्बन्धहरुका जीवित प्रमाण हुन्,’ मोदीले भनेका छन् । उनले नेपाल लोकतन्त्र र द्रुत आर्थिक समृद्धि तथा विकासको नयाँ युगमा प्रवेश गरेको जनाउँदै नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भिजनलाई सघाउन भारत साझेदारका रूपमा रहने बताएका छन् ।

नेपालका राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्न आफू आतुर भएको समेत उनले लेखेका छन् । ‘मेरो भ्रमणले आपसी हित, सद्भाव र समझदारीमा आधारित नेपालसँगको जनता केन्द्रित साझेदारीलाई थप मजबुत बनाउने विश्वास मैले लिएको छु,’ मोदीले भनेका छन् ।

मोदीले यसपटक नेपालमा साढे २९ घन्टा बिताउनेछन् । शुक्रबार बिहान सबा १० बजे जनकपुरबाट सुरु हुने उनको भ्रमण कार्यक्रम शनिबार दिउँसो ३ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली प्रस्थान गरेसँगै समाप्त हुनेछ ।जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलबाट मोदी सीधै जानकी मन्दिर जानेछन् । त्यहाँ उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् ।

दुवै प्रधानमन्त्रीले जानकी मन्दिरको दर्शन र पूजा गरेपछि मोदी जनकपुरको बाह्रबिघा मैदानमा जानेछन् । बाह्रबिघा मैदानमा मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । त्यसपछि उनी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा काठमाडौंतर्फ प्रस्थान गर्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार साढे १ बजे स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि मोदी सीधै बौद्धस्थित होटल ह्यात रिजेन्सी जानेछन् । होटलमा परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि सबा ४ बजे मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गर्ने कार्यक्रम छ । सैनिक मञ्चमा उनलाई प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् । सैनिक मञ्चबाट मोदी सीधै उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय पुगी शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनी शीतल निवासतर्फ जानेछन् । त्यहाँ मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।

राष्ट्रपतिसँग भेटवार्ता सकिएपछि मोदी बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा जानेछन् । शुक्रबार साँझ ६ः२० बजे होटल द्वारिकाजमा मोदी र ओलीबीच ‘वान टु वान’ वार्ता हुनेछ । त्यसपछि त्यहीं नेपाल–भारत द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । होटल द्वारिकाजमै मोदीले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्नेछन् ।

त्यसपछि होटल द्वारिकाजबाटै मोदी र ओलीले संयुक्त रुपमा अरुण तेस्रो विद्युत् परियोजनाको शिलान्यास गर्नेछन् । त्यसपछि संयुक्त विज्ञप्ति जारी हुनेछ । प्रधानमन्त्री ओलीले होटल द्वारिकाजमै भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । रात्रिभोजमा सहभागी भई मोदी राति ९ बजे होटल ह्यात जानेछन् ।

भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान ६ः२० बजे भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा मुक्तिनाथ प्रस्थान गर्नेछन् । मुक्तिनाथको दर्शन र पूजा गरेपछि उनी जोमसोम हुँदै बिहान १०ः२० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं आएपछि उनले पशुपतिनाथको दर्शन र पूजा गर्नेछन् । त्यसपछि उनी भारतीय राजदूत मन्जिभ सिंह पुरीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । त्यहाँबाट उनी राष्ट्रिय सभागृहमा जानेछन् ।

जहाँ काठमाडौं महानगरपालिकाले उनको नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । सभागृहमा अभिनन्दन लिएपछि भारती प्रधानमन्त्री मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगी दिउँसो ३ः५० बजे उनी नयाँदिल्लीतर्फ प्रस्थान गर्नेछन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मोदीको भ्रमणका बेला जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा सम्झौता गर्ने भनिए पनि बिहीबार साँझसम्म ती विषयको टुंगो लागिसकेको छैन । मोदीले नेपालका लागि विशेष सरप्राइज प्याकेज घोषणा गर्ने सम्भावना छ । तर नयाँ सम्झौता हुने सम्भावना कम रहेको स्रोतको दाबी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार