जानकी मन्दिरमा मोदीलाई ओलीको भव्य स्वागत, मोदीद्वारा जानकी मन्दिरमा पूजा–अर्चना

२८ वैशाख, काठमाडौं – नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए ।मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा जनकपुर आइपुगेका मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् ।

 

मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो ।

जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री बनेका छन् । जानकी मन्दिरमा पूजा गरिसकेपछि ओली र मोदीले जनकपुर-अयोध्या सीधा बस सेवाको शुभारम्भ गर्नेछन् । त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा जनकपुर उपमहानगरले अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुर आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार