https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

भारतीय प्रधानमन्त्रीलाई गार्ड अफ अनरका साथ १९ तोपको सलामी

काठमाडौँ, २८ वैशाख — नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारद(गार्ड अफ अनर) प्रस्तुत गरेको छ । सैनिक मञ्च टुडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो । विशिष्ट अतिथिको सम्मानमा सम्मान गारद प्रस्तुत गर्ने प्रचलन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च पुग्नुहुँदा स्वागत गर्नुभएको थियो । सैनिक मञ्चमा सम्मान गारदबाट सम्मानित हुने विशिष्ट पाहुनामा भारतका प्रधानमन्त्री मोदी दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहीद अब्बासी खकानको सम्मानमा पनि नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा सम्मान गारद प्रस्तुत गरेको थियो । समारोहमा मन्त्रिपरिषद्का सदस्यका साथै प्रधानसेनापतिको पनि उपस्थिति थियो ।

नेपालको दुईदिने भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मोदी आज अपराह्न यहाँ आइपुग्नु भएको हो । यसअघि जनकपुरमा आयोजित विशेष समारोहमा नेपाल सरकारका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरलले उहाँलाई स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदीको सम्मानमा प्रदेश नं २ को राजधानी जनकपुरमा आज नागरिक अभिनन्दनसमेत भएको थियो । त्यसअघि उहाँले रामजानकी मन्दिरमा विशेष पूजार्चना गर्नुभएको थियो ।

विशेष विमानमा सवार भएर जनकपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यहाँस्थित अतिविशिष्ट कक्षमा प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गर्नुभएको थियो ।

 

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार