पशुपतिनाथमा मोदीको आधा घन्टा पूजा: पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासत- मोदी

काठमाडौं, २९ वैशाख – दुईदिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान पशुपतिनाथको मन्दिरमा विशेष पूजा–अर्चना गरेका छन्। प्रधानमन्त्री मोदी करिब साढे ११ बजेको समयमा मन्दिरभित्र प्रवेश गर्दै आधा घन्टा पूजाअर्चना गरेका थिए।

पशुपतिनाथ मन्दिरमा मोदीलाई पर्यटनमन्त्री रविन्द्र अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रदिव ढकाललगायत पदाधिकारीले स्वागत गरेका थिए। उनलाई मन्त्री अधिकारीले उपहारस्वरुप पशुपति मन्दिरको मूर्ति दिएका थिए।

यसअघि मोदीले २०७१ साउन १८ गते सोमबार पशुपति मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए।

‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो … ।’

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषमा राखिएको विशेष आगन्तुक पुस्तिकामा ती शब्द कोर्दै नेपाल र भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभयो । नेपाल र भारतलाई जोड्ने काम पशुपतिनाथको कृपाले गरेको उल्लेख छ।

आगन्तुक पुस्तिकामा उहाँले भारतको सहयोगमा पशुपति क्षेत्रमा निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालाले श्रद्धालुलाई नयाँ सुविधा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो यात्राका लागि कोष र सरकारले गरेको व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री मोदीले धन्यवाद दिनुभएको छ । भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो पटक पशुपतिनाथ मन्दिरमा प्रार्थना गर्न पाउँदा आफू प्रशन्न रहेको उहाँले आगन्तुक पुस्तिकामा लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार