सिन्धुली, ३१ बैशाख – सुस्त मनस्थितिकी एक बालिकालाई बन्धक बनाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको हरिऔन नगरपालिका-१० नयाँरोडस्थित शिद्धबाबा होटलका सञ्चालक नारायणराज उप्रेती रहेको प्रहरीले जनाएको छ।
उनलाई विशेष सुरक्षा टोलीले होटलबाटै आइतबार नियन्त्रणमा लिएको सिन्धुलीका निमित्त प्रहरी प्रमुख विनोद शर्माले बताए। ‘उप्रेती लगायतले सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका-८ जमुने क्यानेश्वरकी १६ वर्षीया बालिकामाथि हरिऔन नगरपालिका-१० नयाँरोडस्थित शिद्धबाबा होटलमा बन्धक बनाई सामुहिक बलत्कार गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको हो,’ उनले भने।
घटनामा संलग्न हरिऔन नगरपालिका-१० धरहरा घरभई सिन्धुली क्यानेश्वरको जमुने माइती बस्दै आएकी माया लोप्चन, उनका पति कुमार मोक्तान र त्यही ठाउँका ५० वर्षीय ज्ञानबहादुर थिङको खोजी जारी राखिएको शर्माको भनाई छ। उनीहरुलाई पक्रन प्रहरी नजिकै पुगिसकेको र छिट्टै नियन्त्रणमा लिएर कारबाही अघि बढाइने पनि शर्माले बताए।
हरिऔन नगरपालिका-१० धरहरा घर भई सिन्धुलीको क्यानेश्वरको जमुने माइतीघर बस्दै आएकी मायाले ती बालिकालाई भारतमा लगी राम्रो जागीर दिने भन्दै वैशाख १७ गते सर्लाही पुर्याएपछि बालिकालाई ८ दिनसम्म होटलमा बन्धक बनाई सामुहिक बलत्कार गरेको पीडित बालिकाका बुबाले बताए।
बालिकाले आफूलाई होटलमा बन्धक बनाई सामुहिक बलत्कार गरेको जनाएपछि उनका आफन्तले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा शनिवार नै जाहेरी दर्ता गराएका थिए।
उनीहरुको जाहेरी अनुसार पीडितको स्वास्थ्य परीक्षण गराई सेफ हाउसमा राखिएको छ। घटनामा संलग्नको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ। – अन्नपूर्ण पोस्ट दैनिक