प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न- आफूले गर्दा पुण्य, अरुले गर्दा पाप? (भिडियोसहित)

काठमाडौं, ३१ बैशाख – नेपाली कांग्रेसका युवा नेता गगन थापाले छिमेकी मुलुकका बारेमा साझा दृष्टिकोण बनाएर मात्रै नेपालले लाभ लिनसक्ने बताउनुभएको छ । आज संसद बैठकलाई सम्बोधन गर्दै नेता थापाले राष्ट्रियतालाई सधैं भोटको विषय नबनाएर छिमेकी मुलुकसँगको सम्बन्धका बारेमा साझा दृष्टिकोण बनाउने समय आएको बताउनुभयो ।

यसलाई सधैं घरभित्रको भोटको विषय नबनाऊँ, नेता थापाले भन्नुभयो ‘भारत र चीनसँगको सम्बन्धका बारेमा एउटा साझा दृष्टिकोण बनाऊँ । सरकारमा रहे पनि, प्रतिपक्षमा रहे पनि एक ढिक्का बनौं । बल्ल नेपालले तीर्थयात्रा अथवा मित्र यात्राबाट लाभ लिन सक्छ ।’ उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा प्रधानमन्त्री केपी ओलीले गरेका राष्ट्रवादका कुरा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण स्मरण गर्दै प्रश्न गर्नुभयो, ‘‘आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?’

तत्कालिन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भारत भ्रमणका बेला ओलीले नेकपा एमालेको अध्यक्षका हैसियतमा गरेको टिप्पणी स्मरण गर्दै उहाँले भन्नुभयो, ‘हिजो त्यही कुराकानी गर्दै गर्दा कसैलाई सिंगडा बेच्न गएको भनियो, कसैलाई घुँडा टेक्न गएको भनेर भनियो ।’

सांसद थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बेला सरकारले देखाएको व्यवहारले सरकार र प्रधानमन्त्री लम्पसारवादी मात्रै होइन, ‘महालम्पसारवादी’ देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो प्रश्न भारतीय प्रधानमन्त्री मोदीका बारेमा होइन । उहाँले त भन्नु भएको थियो, यो तीर्थयात्रा हो । उहाँको तीर्थयात्रा सफल भएको छ। तर मेरो प्रश्न हाम्रो प्रधानमन्त्रीका लागि हो । उहाँ किन यसरी लम्पसार पर्नुभयो?’

भिडियो देश सञ्चारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार