अरुण तेस्रोको शिलान्यास संविधानविपरीत : पम्फा भुसाल

काठमाडौं, १ जेठ  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाक्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा गरेको अरुण–३ जलविद्युत् आयोजना शिलान्यासको सत्तारुढ दलकै सांसदले विरोध गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल माओवादी केन्द्रकी सांसद पम्फा भुसालले अरुण तेस्रोको शिलान्यास संविधानविपरीत भएको जिकिर गरिन् ।

कुनैपनि सन्धि–सम्झौता गर्दा संसदको दुईतिहाइले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सांसद भुसालले अरुण तेस्रोको शिलान्यास संविधानको मर्मविपरीत भएको दावी गरिन् ।

उनले नेपालको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठ्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भारतबाटै सैन्य कमान्डो आउनु आपत्तिजनक भएको बताइन् । ‘सुरक्षा दिन नसक्ने भए किन विदेशी उच्च अधिकारी बोलाउने ?’ सांसद भुसालको प्रश्न थियो ।

सांसद भुसालले सीमा समस्या, डुबान र विराटनगरको बेस क्याम हटाउने विषयमा कुनै छलफल नगरिएको भन्दै दुई देशबीचका समस्या यथावत् रहेको टिप्पणी गरिन् ।

नेकपा एमालेका सांसद भीम रावलले जनकपुरमा नागरिक अभिनन्दनकाक्रममा प्रदेश नम्बर–२ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति र राष्ट्रिय झन्डाको व्यवस्थापनले कूटनीतिक मर्यादालाई कमजोर पारेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार