नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता, ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन हुँदै

काठमाडौं, ३ जेठ – नेपालका दुई ठूला कम्युनिष्टहरु  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता हुने भएको  छ । माओवादी प्रवक्ता पम्फा भुषालले बिहिबार बिहानदेखि नै एमाले र माओवादीका नेताहरु छलफलमा रहेको बताइन् ।

बिहिबार बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्दै गरेको र यो बैठकपछि प्रक्रिया अगाडि बढ्ने उनले बताइन् । प्रवक्ता भुषालले बिहिबार अपरान्ह ४ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी एकता घोषणा गरिने जानकारी दिइन् ।

यही सभागृहमा गत वर्षको असोज १७ गते पत्रकार सम्मेलन गरेरै दुवै पार्टीले छिट्टै पार्टी एकता गर्ने घोषणा गरेका थिए । संयोजन समितिको बैठक सकिएपछि एमाले र माओवादीबीच फेरि आन्तरिक छलफल हुनेछ । सम्भवतः यो नै एमाले र माओवादीको अन्तिम आन्तरिक बैठक हुन सक्नेछ ।

एकता घोषणा बिहिबार हुने भए पनि पार्टी महाधिवेशन भने दुई वर्षमा हुने पनि बताइएको छ । पार्टी एकता भएपछि केन्द्रीय समिति ४४१ सदस्यीय र स्थायी समिति ४३ सदस्यीय हुने भएको छ ।

५०–५० को हैसियतमा माात्र पार्टी एकता गर्ने माओवादीले जनाएपछि उसले सम्मानजनक संख्या भने पाउने भएको छ । चुनावमा ६०–४० हुँदै अगाडि बढे पनि अहिले भने अझ नजिक आइपुगेको छ ।

नेताहरुले दिएको आँकडा अनुसार ४४१ मध्ये माओवादीले २०० को हाराहारीमा र ४३ मध्ये १८ सदस्य माओवादीको हुनेछ । पार्टी एकता घोषणा गरेपछि बिहिबारै निर्वाचन आयोगमा जनाउ गरिने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार