काठमाडौं – एमाले–माओवादी पार्टीबीच एकता भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो ।
एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ । पार्टी एकता घोषणाका लागि बुधबार बिहानैबाट दुवै दलले तीव्र गृहकार्य गरेका थिए ।
‘नेपाल कम्युनिष्ट पार्टी’ ले माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भएपछि पार्टी एकता घोषणा गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्यले लिए सामूहिक शपथ
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले बिहिवार सामूहिक रुपमा शपथ लिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकार्कालाई शपथ खुवाएपछि दुवै पार्टीका केन्द्रीय सदस्यलाई शपथ गराइयो । एकीकृत पार्टीको पहिलो केन्द्रीय समितिको बैठकमा पार्टी एकताको समग्र प्रक्रियाका बारेमा अध्यक्षद्वय ओली र दाहालले जानकारी दिएका थिए ।
एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ । सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन् । केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ । सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन् ।
वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो । सामूहिक शपथपछि नयाँ पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका थिए ।