सन्दिपले गरे शानदार प्रर्दशन, मुम्बई इन्डियन्सलाई तीन विकेट दिए

काठमाडौ, ७ जेठ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अन्तिम खेलमा जित हात पारेपछि दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेको तस्वीर ट्वीट गर्दै लेखेको छ। साँचै सन्दिप दिल्लीका लागि उत्कृष्ट छनोट बने। सुरुवाती ११ खेलमा बेञ्चमा विताएका १७ वर्षे नेपाली युवकले जब मौका पाए, आफूलाई प्रमाणित गरे। अन्तिम खेलको प्रदर्शन त ‘सुपर’ नै रहृयो।

आईपीएल अरु खेलाडी जस्तै सन्लिपको पनि सपना थियो। अक्सनमा बोली लागेपछि उनको दिल्ली यात्रा त पक्का भयो तर, खेल्न पाउने नपाउने ठूलो संसय थियो। किनभने हरेक टिममा एकसेएक खेलाडीहरु थिए।

दिल्लीमा पनि ट्रेन्ट बोल्ड, अमित मिश्र, मोहम्मद सामी, लिम प्लंकेट, हर्सल पटेलदेखि दक्षिण अफ्रिकाका जुआन डाला लगायतका थुप्रै बलर थिए। भारतकै अभिशेक शर्मा, साहब नदिम पनि दिल्लीको टिममा अवसरको पर्खाइमा थिए।

त्यसैले होला सन्दिपले ११ खेल बेञ्चमा विताए। तर, जब दिल्ली प्ले अफमा पुग्ने सम्भावना टर्‍यो, सन्दिपको भाग्य खुल्यो। दिल्लीको बाँकी तीन वटै खेलमा सन्दिपले खेल्ने मौका पाए।

आफूले पाएको मौकामा खरो उत्रिएका उनले प्रतियोगिताका अन्तिम खेलमा तीनसहित ५ विकेट लिए ।आफ्नो पहिलो खेलमा उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। खेलमा दिल्ली ५ विकेटले पराजित भएपनि सन्दिपको बलिङको भने तारिफ भयो।

दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका उनी ‘स्टाइलिस प्लेयर अफ द म्याच’ नै भए। सन्दिपले महेन्द्र सिंह धोनी र सुरेस रैनाको साझेदारी तोडेको खेलमा दिल्ली ३४ रनले विजयी भयो। दिल्लीका लागि चेन्नईविरुद्धको जित ठूलो थियो।

लगातार दुई खेलमा राम्रो प्रदर्शन गरेका सन्दिप अन्तिम खेलमा निर्विकल्प बने। र, त्यसलाई उनले प्रमाणित पनि गरे। अन्तिम दिनको खेल चलिरहँदा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले सन्दिपको समर्थनमा ट्वीट गरेका थिए, ‘निकै राम्रो गर्‍यौ, अझै धेरै अघि जानु छ ।’

साच्चै मुम्बईको प्ले अफको बाटो बन्द गर्न सन्दिपको भूमिका महत्वपूर्ण रहृयो। दिल्लीको पहिलो ओभर नै बलिङ गर्न आएका उनले १३ रन खर्चेर १ विकेट लिए।

त्यसपछि १० औँ ओभरमा बलिङमा आएका उनले ६ रन खर्चेर २ विकेट लिए । तेस्रो ओभरमा १३ रन खाएका उनले चौथो ओभरमा ४ रन मात्रै खर्चिए। ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए।

त्यसले मुम्बईमाथि थप दबाब बनाउन महत्वपूर्ण सावित भयो। खेलमा दिल्ली ११ रनले विजयी भयो। खेलपछि दिल्लीका कप्तान श्रेयस ऐयरले सन्दिपको बलिङ उत्कृष्ट रहेको र जितको आधार भएको प्रतिक्रिया दिए।

विश्वकै सबैभन्दा महंगो र चर्चित क्रिकेट लिगमा उनले आफूलाई मात्र प्रमाणित गरेनन्, नेपाली खेलाडीको खेल स्तर विदेशी भूमिमा बुझाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार