काठमाडौं, ७ जेठ – संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा प्रदेश मन्त्रालयका कर्मचारीसम्बन्धी परिमार्जित संगठन संरचना प्रस्ताव पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
जनरल कन्भेन्सन अफ मधेशी एसोशिएसन अफ अमेरिका भन्ने गैरसरकारी संस्थाको निम्तामा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा पठाउने भनी सो प्रदेशको मन्त्रिपरिषद्बाट आएको प्रस्तावमा प्रदेशको आर्थिक वर्षको बजेट निर्माण तथा कार्यक्रमलगायतका संगठनात्मक पूर्ण कामहरु गर्नुपर्ने समय परेकाले सो प्रस्तावमा जान अनुपयुक्त देखिएको ठहर मन्त्रिपरिषद्ले गरेको सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
मुख्यमन्त्री राउतले जरल कन्भेक्सन अफ मधेसी एसोसियसन अमेरिका नाम कार्यक्रममा भाग लिन जान पाउँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए ।- नागरिक दैनिक