टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ – नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो ।

विस २०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८९४ रहेकामा २०७४ चैत अन्त्यसम्ममा उक्त संख्या बढेर एक करोड एक लाख ५४ हजार पुगेको छ ।

विसं २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

रिपोर्टअनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ५९ हजार १७२ छन् । गत २०७४ चैत महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार एक करोड ९३ लाख २२ हजार ८५५ रहेको छ ।

जिएसएम मोबाइल सेवाका ग्राहक एक करोड ६९ लाख ४४ हजार ५३९, सिडिएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३५१ तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक छ लाख ८९ हजार ३७३ रहेका छन् ।

कम्पनीले सेवाग्राहीहरुको सुविधाका लागि हाल सस्तो दरका विभिन्न प्रकारका प्याकेज र अफरहरु उपलब्ध गराइरहेको छ । यस्ता प्याकेज र अफरहरुका कारण पनि कम्पनीका डाटा प्रयोगकर्ताको संख्या बढिरहेको छ ।

डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएस सम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ ।

विभिन्न प्याकेज खरिद गर्न तथा जानकारी लिनका लागि *1415# डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट  (www.ntc.net.np) मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार