काठमाडौँ, ९ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन्। संघीय संसद्मा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार नै बजेट तयार पारिने बताएका हुन्।
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा छुटेका महत्वपूर्ण विषयलाई बजेटमा सम्बोधन गरिने उल्लेख गरे। परम्परागत ढंगले विकास निर्माणका काम अघि बढाउँदा लक्ष्यमा पुग्न नसकिने बताउँदै त्यसका लागि विकासको नयाँ प्रविधि प्रयोग गर्नै पर्ने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले अहिले बहुमत प्राप्त कम्युनिष्ट सरकार भएकाले यसलाई कुनै बहानामा पनि उम्किने छुट नभएकामा जोड दिए।
प्रधानमन्त्री ओलीले भने,’हामीसँग बहुमत प्राप्त सरकार छ । त्यसकारण जनताका अपेक्षा पनि धेरै छन्। ती अपेक्षा पूरा गर्न सकिएन भने जनताले अर्को चुनावमा अप्रिय निर्णय गर्न सक्छन्। प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले आएको स्पष्ट पार्नुभयो।’ रासस