प्रधानमन्त्री ओलीको ४२ लाख बैंकमा, कुन मन्त्रीको कति सम्पत्ति ?

काठाडमौं, ९ जेठ – वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको देखिएको छ।

भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्यको नाममा रहेको छ। त्यस्तै झापाको पृथ्वीनगरमा पनि शाक्यको नाममा १० कठ्ठा जग्गा रहेको छ। शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र पनि रहेको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ। सम्पत्ति विवरणमा यसको स्रोत तलब भत्ता भनेका छन्।ओलीसँग १७ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीसँग गाडी पनि नभएको सम्पत्ति वितरणमा जनाइएको छ।

रामबहादुर थापाको पशुधनमा दुई कुकुर

गृहमन्त्री रामबहादुर थापाले बुझाएको सम्पति विवरण अनुसार एभरेष्ट बैंकको खातामा २० हजार मात्र भएको उल्लेख छ। बादलको स्वकीय सचिवालयका सदस्य बिरु तामाङको नाममा रहेको एभरेष्ट बैंकको खातामा भने तीन लाख ६० हजार एक सय ९३ रुपैयाँ भएको उल्लेख छ।बादलले अन्य सम्पत्ति सबै श्रीमतीकै नाममा देखाएका छन्।

जहाँ शेयर, सुन, घरजग्गा सबै श्रीमतीकै नाममा छ। त्यो सम्पत्ति पनि सबै माइतीपक्षबाट दाइजो आएको वा विदेशबाट श्रीमतीका भाइ बहिनीबाट उपहार पाएको उल्लेख छ। गृहमन्त्री बादल कृषि तथा पशुधन को विवरणमा भने दुई कुकुर निधक्कसाथ लेखेका छन्।

रक्षामन्त्री पोखरेलको सम्पत्ति
रक्षामन्त्री ईश्वर पोखरेलकी पत्नीको नाममा काठमाडौंको टोखा–६ मा २३ आनामा बनेको तीनतले घर, नगरकोटमा १ रोपनी ११ आना जग्गा, धादिङको खानीखोलामा ४ रोपनी जग्गाका साथै ९ तोला सुन र २५ तोला चाँदीको गरगहना एवं विभिन्न बैंकमा १३ लाख ४० हजार नगद छ भने पोखरेलको नाममा झापाको चन्द्रगढीमा १२ कट्ठा जग्गा छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको सम्पत्ति
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको काठमाडौंमा एउटा घर, अढाइ लाख नगद र केही सुन रहेको देखाइएको छ ।

रधुबीर महासेटसँग अर्ब बढी सम्पति

सरकारले सार्वजनिक गरेको सम्पति अनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएको पाइएको छ।मन्त्री महासेठले उपलब्ध गराएको विवरणअनुसार चल अचल सम्पत्ति जोड्दा उनीसँग अर्ब बढीको सम्पत्ति रहेको पाइएको छ।

महासेठको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालि वडा ९ मा ४२०० वर्गफिटको साढे दुई तल्ला घर रहेको छ। त्यस्तै श्रीमतीकै नाममा ललितपुर महानगरपालिकामा ५८०० वर्गफिटमा साढे दुई तल्ला घर रहेको छ।

त्यस्तै श्रीमती जुलीकै नाममा धनुषामा ८ विघा र ५ कठ्ठा, सिन्धुली कमलामाइमा ५ कठ्ठा, ललितपुर महानगरपालिकामा २ रोपनी १३ आना, १ रोपनी ७ आनाको कित्ता रहेको छ। महासेठको नाममा भने १ विघा १५ कठ्ठा जग्गा रहेको देखिन्छ।

त्यस्तै महासेठले ७२ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेका छन्। महासेठसँग ५२ तोला सुन देखिन्छ। जसमा २७ तोला पैतृक र २५ तोलो दाइजोको रुपमा रहेको विवरणमा उल्लेख छ। चाँदी भने डेढ किलो रहेको देखिन्छ ।

महासेठसँग ४० करोड रुपैयाँ बराबरको सेयरसमेत रहेको देखिन्छ। त्यस्तै सगोलको जग्गा भने १४७ विघाभन्दा बढी रहेको देखिन्छ। महासेठले भने श्रीमती र आफ्नो नाम गरी २३ करोड ऋण देखाएका छन्।

मन्त्री लालबाबु पण्डितसँग एक थान साइकलः

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ।पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा एक थान साइकल मात्रै रहेको पाइएको हो।

विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ। ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन्। उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ।

मन्त्री विना मगरको बैंक खाता शुन्यः

खानेपानीमन्त्री विना मगरको सम्पत्ति विवरणमा श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ।  उनको सम्पत्ति विवरणमा प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उल्लेख छ।

मगरसँग ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको छ जुन पैतृक सम्पत्ति उनले भनेकी छन्। मन्त्री मगरले सम्पत्ति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि सम्पति विवरणमा उल्लेख गरेकी छन्।

प्रकाश दाहालको जग्गा मावलीका हजुरआमाबाट पाएको र सासु सीता दाहालको नाममा रहेको जग्गा पैत्रिक भनिएको छ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी मन्त्री मगरसँग एक रुपैयाँ पनि नगद छैन।

शिक्षामन्त्री पोखरेलको सम्पत्ति
यस्तै, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको महोत्तरीमा एउटा घर र ३ लाख ६७ हजार बैंक ब्यालेन्स छ ।

उद्योगमन्त्री यादवको सम्पत्ति
उद्योगमन्त्री मातृकाप्रसाद यादवको सिरहा र धनुषामा ४५ लाखमा किनिएका दुई घर, एक करोड ३० लाखको जग्गा, १६ तोला सुन र केही नगद छ ।

वनमन्त्री बस्नेतको सम्पत्ति
वनमन्त्री शक्तिबहादुर बस्नेतको जाजरकोटमा एउटा घर, १७ लाख नगद, ७ तोला सुन, १० किलो चाँदी र तीन लाख बढीको सेयर छ ।

कृषिमन्त्री खनालको सम्पत्ति
कृषिमन्त्री चक्रपाणि खनालको कपिलवस्तु र रूपन्देहीमा १५ कट्ठा जग्गा, ६ तोला सुन र श्रीमान्–श्रीमतीका नाममा गरी १५ लाख नगद र १० लाखको सेयर छ ।

खेलकुदमन्त्री सुनारको सम्पत्ति
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको पोखरामा दुई रोपनी जग्गा, ललितपुरमा जग्गा तथा ५० तोला सुनका साथै परिवारका नाममासमेत गरी २० लाख बैंक ब्यालेन्स छ ।

कानुनमन्त्री तामाङको सम्पत्ति
कानुनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममासमेत गरी काठमाडौं, गोकर्णेश्वरमा तीन रोपनी जग्गा र घरका साथै सिन्धुपाल्चोक, मोरङ, खोटाङ, काठमाडौंमा १२३ रोपनीभन्दा धेरै जग्गाका एवं ३० तोला सुन, सवा लाख नगद र १५ लाखको सेयर छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टको सम्पत्ति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुईओटा घर छ । ७ तोला सुन तथा विभिन्न बैंकमा ७ लाख ३२ हजार नगद मौज्दात छ ।

सर्वहारा मन्त्री !
साँच्चिकै सर्वहाराजस्तो देखिनेमा खानेपानीमन्त्री बीना मगर र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा छन्, जसको परिवारका नाममा अत्यन्तै न्यून सम्पत्ति छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार