नख्खु कारागार ‘डन’को कब्जामा, जेलर र बस्नेतबीच यसरी हुन्छ सेटिङ

काठमाडौं, १० जेठ – नख्खु कारागारमा कर्तव्य ज्यान र जवर्जस्ती करणी मुद्दामा सजाय भुक्तान पूरा गरी छुट्न लागेका बर्दियाका भक्तबहादुर सुनारको रहस्यमय हत्यासँगै कारागार नै अपराधीहरुको कब्जामा पुगेको छ । सुनारको बैशाख २१ गते राति कारागारभित्रै हत्या भएको थियो ।

तर, कारागार प्रशासनले भने अचानक विरामी भई वीर अस्पतालमा पु-याइएका सुनारलाई आईसीयुमा भर्ना गरी उपचार गर्नु पर्नेमा त्यहाँ आईसीयु बेडको अभावका कारण लगनखेलस्थित पाटन अस्पताल पु-याई उपचार गरिरहेका बखत २२ गते मृत्यु भएको जनाएको थियो ।

कारागार प्रशासनले उनको मृत्युको कारण विरामी भएको जनाएपनि त्यहाँ भित्रका कर्मचारी र जेलरको मिलेमतोमा सुनारको कुटपिटबाट मृत्यु भएको थियो । उनको शवसँगै तीन पृष्ठको हस्तलिखित सुसाइट नोट भेटिएको थियो ।

सुनारको शंकास्पद मृत्युको बारेमा गृह मन्त्रालयले छानविन गरिरहेको छ । राज्यले दिएको सुबिधामा छुट्न पाउन कारागारका चौकीदार बुद्ध गुरुङ, जेलर र केही गुण्डा नाइकेले १५ लाख मागेको र नदिएपछि सुनुवारको कुटपिटबाट मृत्यु भएको सुनारले मृत्यु अघि लेखेको ‘सुसाइट नोट’ उल्लेख थियो ।

कारागरमा चौकिदार गुरुङ, जेलर र डन समिरमान बस्नेतको हालीमुहाली चल्दै आएको छ । कारागारभित्र राज्यले दिएको सेवा सुबिधा लिन समेत यो समूहलाई मोटो रकम बुझाउनु पर्ने बाध्यता रहेको छ । प्रशासन र चौकिदारलाई रिझाउन नसकेकै कारण सुनुवारको हत्या भएकोे अनुसन्धान स्रोतले बतायो ।

स्रोतका अनुसार निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्या काण्डका नाइके समिरमान बस्नेतले जेल प्रशासनसँगको मिलेमतोमा नाइके, भाइ नाइके खडा गर्दै आएका छन् । बस्नेतको समूहले भाइ नाइके मार्फत अन्य कैदीहरुसँग पैसा असुल्ने गरेको र पैसा नदिनेलाई शौचालयमा सुत्न पठाउने गरेको स्रोत बताउँछ ।

कारागारमा लाखौ लगानी गरी जिम क्लवलाई मर्मत गरेपछि बस्नेतल कारागारमा सुरक्षा दिंदै आएको सशस्त्र प्रहरीको सेटिङमा चमेना गृह नै कब्जा गरेको स्रोत बताउँछ । नख्खुमा नेपाल प्रहरीबाट सईको कमाण्डमा आठ जना प्रहरी रहँदै आएका छन् भने काठमाडौंमा रहेका डिल्लीबजार र केन्द्रीय कारागार सुन्धारामा नेपाल प्रहरीले सुरक्षा दिंदै आएको छ । केन्द्रीय कारागार सुन्धारामा डिएसपीको कमाण्ड रहेको छ भने डिल्लीबजारमा इन्सपेक्टरको कमाण्डमा नेपाल प्रहरी खटिएका छन् ।

नख्खुमा नेपाल प्रहरीको काम नै कैदीहरुलाई अस्पताल र अदालत लैजाने मात्र हो । सुरक्षा भने सशस्त्र प्रहरीले गर्दै आएको छ । नख्खु कारागारको सुरक्षाको जिम्मा नेपाल प्रहरीले नपाउने हो भने त्यहाँ कुनै पनि समयमा ठूलो घटना घट्न सक्ने स्रोत बताउँछ । बस्नेतले केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनसँग पनि मिलेमतो गरी अझै पनि ठेकेदारहरुलाई धम्क्याएर रकम असुल्दै आएका छन् ।

कुनै समय दुस्मन रहेका बाहुन र बस्नेतबीच अहिले भने राम्रो कनेक्सन रहेको प्रमाण पनि फेला परेको छ । बस्नेत र बाहुनलाई प्रहरीको एउटा उच्च समूहले मिलापत्र गराई संरक्षण दिंदै आएको स्रोतले बतायो । कारागार स्रोतका अनुसार मृतक सुनार र अर्का गुण्डा नाइके अभिषेक गिरीबीच कनेक्सन रहेको प्रमाण पनि फेला परेको छ ।

केही समय अघि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को विशेष निर्देशनमा मोरङ कारागारमा रहेका गुण्डा नाइके गिरीलाई नख्खु कारागार सरुवा गरिएको थियो । मन्त्री थापाले जेलमा मर्सिडिज गाडी चढ्ने कैदीहरु रहेको बताएका थिए । मोरङ कारागार भित्रको सम्पूर्ण कारोबार गिरीले नै गर्दै आएका थिए । गृहमन्त्री वादलले गिरीको नाम नलिएपनि मर्सिडिज चढ्ने कैदी भनेको गिरी नै हुन् । – यूनाइटेड पोष्ट साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार