काठमाडौं, ११ जेठ – सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तापक्षका सांसदले समर्थन गर्ने र प्रतिपक्षी दलका सांसदले विरोध गर्ने पुरानै शैली संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभामा समेत दोहोरिएको छ ।
अझ आफ्ना सांसदहरूले पर्याप्त बोल्ने समय नपाएको प्रमुख प्रतिपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बताइन् । उनले भनिन्, ‘सांसदहरूको उपस्थिति कम हुनुमा प्रमुख सचेतक र सचेतकको दोष छैन । हामीले बैठकको प्रत्येक अघिल्लो दिन एसएमएसबाट सबै माननीयलाई खबर गरेका हुन्छौँ ।’
नीति तथा कार्यक्रममाथि बुधबारदेखि शुक्रबारसम्मका लागि तय गरिएको तीनदिने छलफलमा प्रत्येक दिन आफूहरूले ६५ मिनेट समय पाएको प्रतिपक्षी दल कांग्रेस सचेतक भुसालले बताइन् । संघीय संसद्अन्तर्गत २७५ सदस्यमध्ये अधिकांश सांसदले बोल्न पाए पनि तीन दिनमा सबै सांसदले बोल्न समय नपाउने देखिएको छ ।
बोल्ने समय पाएका सांसदले समेत सत्तापक्षका भए समर्थन गर्ने र विपक्षी भए विरोध गरेर बैठक कक्षबाट बाहिरिने चलन देखिएको छ । जसले गर्दा संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल औपचारिकतामा सीमित भएको देखिन्छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा कांग्रेसले उत्साहजनक सहभागिता जनाएको सचेतक भुसालले बताइन् । तर, प्रमुख प्रतिपक्षीकै अधिकांश कुर्सी खाली रहेकोबारे उनले भनिन्, ‘हामीले एक दिनमा बोल्न ६५ मिनेट समय पाउछौँ ।
त्यसभित्र शीर्ष र प्रभावशाली नेताहरूले पाँच मिनेटभन्दा बढी बोल्नुहुन्छ । सांसदले समेत ५ मिनेटभन्दा बढी नै पाउने भएपछि बोल्न नपाएर होला ।’ – नयाँ पत्रिका दैनिक