काठमाडौं, १३ जेठ — नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कार्यविभाजन टुंग्याएका छन् ।
प्रधानमन्त्री ओलीको सरकारीनिवास बालुवाटारमा शनिबार भएको छलफलले चार पदमा तत्कालीन दुई पार्टीका तर्फबाट दुई–दुईजना पर्ने गरी जिम्मेवारी टुंग्याइएको हो ।
नेम्वाङ प्रतिनिधिसभामा उपनेता, शर्मा राष्ट्रिय सभाका नेता
ओली र दाहालले प्रतिनिधिसभा संसदीय दलको उपनेता सुवास नेम्वाङ र राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मा बनाउने सहमति गरेका छन् । नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली चयन भइसकेका छन् ।
नेम्वाङ तत्कालीन एमालेबाट प्रतिनिधिसभा दलको उपनेता तथा शर्मा राष्ट्रिय सभामा माओवादीबाट दलको नेता थिए । संसदीय दलको कामलाई प्रभावकारी बनाउन दुवै नेतालाई निरन्तरता दिने सहमति भएको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबीच राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भए पनि सहमतिबारे अनभिज्ञता प्रकट गरे ।
‘एउटै पार्टीका अध्यक्षबीच नियमित छलफल–संवाद हुने कुरा नौलो भएन, राजनीतिक विषयमा कुराकानी भएको हो, तर सहमतिबारे जानकारी छैन,’ अधिकारीले भने ।— नयाँ पत्रिका दैनिक