धनुषा, १३ जेठ – नेपाल कम्युनिष्ट पार्टीले २ नम्बर प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारले आफुहरुको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो ।
अाज बसेको प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठकमा तत्कालिन एमालेको संसदीय दलका नेता सत्यनारायण मण्डल र तत्कालिन माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले १ सय दिनमा सरकारले सोचेजस्तो काम नगरेकाले समर्थन फिर्ता लिएको बताउनुभएको हो । सरकार आफुखुशी चलेको दुवैजनाको भनाई छ । यसैबिच प्रदेशसभाको बैठक अहिले अवरुद्ध भएको छ ।
नेकपाले समर्थन फिर्ता लिएपनि प्रदेश सरकारसँग भने बहुमत कायमै छ । १ सय ७ सदस्यीय प्रदेशसभामा सत्तारुढ संघीय समाजबादी फोरम र राजपा मिलुन्जेल बहुमत कायमै हुनेछ । दुवै दलका गरि ५४ जना सांसद छन् भने एकजना स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गरेका छन् । सरकार गठन गर्न ठ्याक्कै ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । तर अब विपक्षी भने बलियो भएको छ ।