नक्कली छोरा बनाएर झुक्यार्इ मिर्गौला लिने पक्राउ

काठमाडौं, १४ जेठ – भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ । मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयारपारी छोरा बनाएर उनको मिर्गौलाझिकेकाहुन् । गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो ।  अस्पतालमा बुझाउनुपर्ने कागजपत्रमा छोरो देखाउने तर छोरा नभई अर्कै व्यक्तिको मिर्गाैला झिकेर प्रत्यारोपण गरेको आरोपमा बस्नेत पक्राउ परेका छन्।

पीडित गिरीका आफन्त प्रह्लाद गिरीका अनुसार काका पर्ने लालचन्द्र गिरी र डिल्लुराम गिरीसँग थर्कको छोरा आशिषको चिनजान थियो । थर्कले उनीहरुमार्फत गिरीको मिर्गौला निकालेर प्रत्यारोपण गरेका थिए।

बस्नेतले आफ्नो छोरा आशिषका नाममा नक्कली कागजपत्र तयार गरी मिर्गौला प्रत्यारोपण गरेको उजुरी महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीमा परेको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। कुमार मानसिक अवस्था कमजोर भएका व्यक्ति हुन्।

अस्पतालमा नाता प्रमाणित जाँच गर्न छुट्टै समिति रहे पनि कसरी नक्कली कागजका आधारमा मिर्गौला झिकियो भन्ने विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण प्रसाईले बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। ‘मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति प्रहरी नियन्त्रणमा छन्। हामी थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

‘अनेक प्रलोभन देखाई पत्थरीको उपचार गराइदिन्छु, यसलाई पत्थरीको समस्या रहेछ भनी फर्जी नाता प्रमाणितको कागजसमेत बनाई बायाँतर्फको किड्नी निकालेका रहेछन्,’ जाहेरीमा उल्लेख छ, ‘हाल यसरी झुक्यानमा पारी किड्नी निकाल्ने र हाल्न सहयोग गर्नेहरु फरार छन्।

पीडित र परिवारलाई पीडकका तर्फबाट प्रलोभन दिने र धम्क्याउने काम भएकाले आवश्यक अनुसन्धान गरी कारबाही गर्न विनम्र अनुरोध गर्दछु’, पीडित कुमार गिरीका आफन्त प्रह्लादले दिएको जाहेरीमा उल्लेख छ।- नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार