काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पार्टी गुट उपगुटका कारण कमजोर बनेको भन्दै एक हुनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनको २७औं स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवासहितका नेताले पार्टीलाई बलियो बनाउन आन्तरिक एकता बलियो हुनुपर्ने बताए । देउवाले कम्युनिस्ट शक्तिहरूको एकताले पार्टीलाई समेत एक हुन दबाब बढेको भन्दै बलियो कंग्रेसका लागि सबै एक हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कसैले भन्दैमा वा कसैको रहरमा आफूले कांग्रेस पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् ।
पार्टी निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले आफ्नो २७ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले आफू निर्वाचित पार्टी सभापति भएको र निर्वाचित सभापतिलाई कसैले हट भन्दैमा नहट्ने र पार्टीको विधि/विधान अनुरुप मात्र पदको टुङ्गो लाग्ने बताए ।
उनले पार्टी भित्र एकता हुनुपर्छ भन्नेमा नै बिश्वास राख्ने भन्दै अवको तीन बर्षभित्र महाधिवेशन हुने बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीयतामा मुलुक अघि बढ्दै गर्दा संघीयताकै लागि लड्ने शक्ति पछि परेको बताए । उनले जोडे, ‘लोकतन्त्रका लागि जसले लड्यो, त्यही शक्ति आज पछि परेको छ, संघीयता शब्द उच्चारण नै नचाहने शक्ति सत्तामा पुगे, कलाकारिताले मुलुकमा राजनीतिक स्थायित्व हुँदैन ।’
संघीयतामा अघि बढिसकेको देश अब पछि हट्न नसक्ने भन्दै संसद्लाई विकासका नाममा बजेट बाँडेर स्थानीय तहको अधिकारलाई खोस्न दिन नहुने पौडेलेको धारणा थियो । पार्टीभित्रको विभाजित मनलाई एक ठाउँमा उभ्याउन इच्छा गरेर मात्र नहुने बताएका उनले थपे, ‘इच्छा गरेर मात्रै एकता हुँदैन, न्याय, निश्पक्षता र पारदर्शिताबाट मात्र एकताको सन्देश दिन सकिन्छ ।’
सरकारको सय दिनलाई भने नेता पौडेलले फुस्रो पातको संज्ञा दिए । हुने बिरुवाको चिल्लो पात भनझंै सरकारको सुरुवाती दिन नै फुस्रो भएको पौडेलले बताए ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने सरकारको सय दिनको काम संघीयता र समावेशिताविरुद्ध सिन्डिकेट लाद्न मात्रै केन्द्रित भएको बताए । निधिले प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणतर्फ गएर लम्पसार परेको भन्दै कहिले उत्तर र कहिले दक्षिण गर्दा राष्ट्रियता लतारिएको बताए ।
महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आफूले भूमिका निर्वाह गरिरहेको बताए । कोइरालाले कांग्रेसका लागि आगामी निर्वाचनमा ५१ प्रतिशत मत चाहिने भन्दै पार्टीभित्रको गुट उपगुट अन्त्य गर्नुपर्ने नै मूल आवश्यकता रहेको औंल्याए । नेता डा। मीनेन्द्र रिजालले आफूलाई मन नपरेको कुरा लेख्न बन्द गराउँदा आफूलाई मन परेको कुरा लेखाउने स्वतन्त्रतासमेत गुम्ने भएकाले प्रेसलाई स्वतन्त्र रूपमा जिम्मेवारी निर्वाह गर्न दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, प्रेस युिनयन महासचिव अजयबाबु शिवाकोटी, टे«ड युनियनका अध्यक्ष खिलानाथ दाहाललगायतले प्रेस युनियनले सञ्चार क्षेत्रका लागि निर्वाह गरेको भूमिका र आवश्यकताका विषयमा धारणा राखेका थिए ।