नयाँ दाउमा ज्ञानेन्द्र शाह, होलान त सफल ?

काठमाडौं, १५ जेठ – राजनीतिमा हरेक असम्भव खेलहरूको सम्भावना हुन्छ भन्ने कम्युनिस्ट पार्टीको एकीकरणले पुष्टि गरेको छ । यस्तै खेल पूर्वराजा सहित राजावादीहरूले सुरु गरेका छन् ।

केपी शर्मा ओलीको अघिल्लो सरकारमा उपप्रधानमन्त्री भई ओलीलाई अहिलेसम्मकै गतिलो प्रधानमन्त्री भनेका राप्रपा अध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘राजतन्त्र’ मुद्दाको दोस्रो राजनीतिक इनिङमा प्रवेश गरेका छन् ।

थापाले धोका दिएका कारण अलमलमा रहेका ज्ञानेन्द्रले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा थापालाई नै विश्वास गरेका छन् । नहुनु मामा भन्दा कानो मामा निको भनेजस्तो राजतन्त्रकै बारेमा वकालत गर्ने राजनीतिक दल नभएको बेला कमल थापा शरणमा आएपछि उनले यो यात्रालाई पुन सुरु गर्ने तयारी गरेका हुन् ।

अघिल्लो बर्ष देश दौडाहाका क्रममा झापामा तीन वटै राप्रपाका नेताहरूसँगको भेटलगत्तै काठमाडौं फर्केर पूर्वराजाले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित राप्रपाका तीनवटै घटकका नेताहरूलाई भेटेको बताइएको छ । तर झापामा त्यस्तो खास राजनीतिक संवाद भएको थिएन ।

त्यसो त रौतहटमा पूर्वराजासँग निगुरमुन्टी भएर अभिभावदन गरेका कमल थापाको राजनीतिक हैसियत गुमनाम हुने अवस्थामा छ । उनले राजनीतिक उदयका लागि पनि यो इनिङमा राजतन्त्रको मुद्दालाई बलियो बनाउने देखिन्छ ।

त्यसो त राप्रपाको वीरगञ्ज बैठकमा थापाले राजालाई भेटेको चर्चा गरेका थिए । त्यतिमात्र होइन उनले पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दसहित आफुले भेटेको दाबी पनि गरेका थिए । कार्यकर्तालाई आश्वस्त पार्न गरिएको यो दाबी साँचो भएको उनले रौतहटमा देखाए ।

ज्ञानेन्द्र झापाबाट फर्केपछि लोकेन्द्रबहादुर चन्द सहित राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा र एकिकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी बैशाख पहिलो साता निर्मल निवास पुगेर पूर्वराजालाई भेटेका थिए ।

त्यसमध्ये थापा र पूर्व प्रधानमन्त्री चन्दले ६ वैशाखमा, राणा र लोहनीले ७ वैशाखमा पूर्वराजालाई भेटेका थिए । पूर्वराजाको सबैभन्दा लामो कुराकानी राप्रपा अध्यक्ष पशुपति शमशेर राणासँग भएको थियो । पूर्वराजाले राष्ट्रवादीको विभाजनका कारण गणतन्त्रकारी शक्ति एकजुट हुन सकेको भन्दै राजावादी आन्दोलन चर्काउनका लागि भनेका थिए ।

राजनीतिमा राप्रपा, संगठनमा शिव सेना

राजनीतिक शक्तिमा राप्रपाको एकीकरण देख्न चाहेका ज्ञानेन्द्रले युवक संगठनमा भने शिव सेना नेपाललाई परिचालनको तयारी गरेका छन् । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबा अहिले राजतन्त्रका लागि विभिन्न कार्यक्रमहरूमा सक्रिय रहने गरेका छन् ।

ज्ञानेन्द्रसँग छोरा तथा पूर्वयुवराज पारस शाहको सम्बन्ध बलियो हुँदै गएपछि युवक संगठनको फन्डिङ, सहयोग र ठूला समुह निर्माणको जिम्मा पनि पारसले पाएका छन् ।

विखण्डित परिवार मिलाउँदै राजतन्त्रको आन्दोलनलाई धार्मिक अनुष्ठान, पूजा, पुराण, मन्दिरहरूमा व्यापक बनाए मात्र इतिहासलाई जोगाउन सकिने धारणा ज्ञानेन्द्रले राखेका छन् । राजतन्त्रको आधारभुत आवाज हिन्दु धर्म प्रचारका कारणले मात्र सम्भव हुने भएकाले त्यसमा जोड दिनुपर्ने ज्ञानेन्द्रको सुझाव थियो ।

त्यसो त भारतीय संस्थापनले पनि हिन्दु धर्म र राजतन्त्रका लागि सहयोग गर्ने अपेक्षा ज्ञानेन्द्रले गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राजावादी कित्ताका पत्रका अस्मिता भण्डारीलगायतको सहभागीता गराउन ज्ञानेन्द्र सफल भए ।

भण्डारी विश्व हिन्दू महासंघकी महासचिव पनि हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सक्रियताका कारण राजा ज्ञानेन्द्रको कित्ता मोदीसँग जोडिएको छ । मोदीले हिन्दु धर्मको प्रचारसँगै सहयोगको घोषणा गरेपछि नेपालमा हिन्दु धर्म कायम गराउँदै राजालाई फर्काउने भित्रि खेल जारी छ । – जनप्रहार साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार