काठमाडौं, १७ जेठ – नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले अण्डरलाइन राखेर निर्वाचन आयोगमा निवेदन दिएपनि दर्ता प्रक्रिया अघि नबढेपछि बिहीबार अर्को निवेदन दिने भएको छ ।
जेठ ३ गते औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्दै निवार्चन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । आवश्यक कागजात नपुगेको आयोगको प्रतिक्रियापछि जेठ १४ गते नवगठित नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक महत्वपूर्ण कागजात बुझाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी २०६९ सालमा ऋषि कट्टलेले दर्ता गरेकोले एकै नाममा दुर्इवटा दल दर्ता हुन नसक्ने भएकोले अण्डरलाइन गरिएको थियो । नेकपाकै नाममा कट्टेलको दर्ता छ भने विप्लव नेतृत्वको पार्टी नेकपाकै नाममा सञ्चालित छ । पार्टी संसदीय दलको बुधबारको बैठकमा उपनेता सुवास नेम्वाङले आमजनता, बुद्धिजीवी, नागरिक समाजको सुझाब तथा पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जनका लागि बिहीबार आयोगमा निवेदन दिन लागिएको जानकारी गराएका थिए ।
गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । नयाँ निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टीको नामको पछाडि (नेकपा) पनि रहनेछ ।
‘हामिले विभिन्न पक्षबाट आएका सुझावहरुलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेका छौं’, संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले भने, ‘पार्टी दर्ता विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा छौं ।’
उनले पार्टीको नाम परिमार्जन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै बिहीबारै आयोगमा पुगेर औपचारिक पत्राचार गरिने बताए । आयोगमा नेकपाले ४४१ केन्द्रीय सदस्यको हस्ताक्षरसहित दर्ताका लागि यसअघि नै निवेदन दिइसकेको छ । औपचारिक छानबिनपछि आयोगले अन्तिम निर्णय गर्न बाँकी छ ।